चितवनमा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

चितवनमा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिकामा मङ्गलबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, इच्छाकामना-२, हपनीमा भएको उक्त दुर्घटनामा स्थानीय ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो।

फिस्लिङबाट हपनीतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

प्रहरी प्रवक्ता रवीन्द्र खनालले दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएको जानकारी दिनुभयो। घाइते दुवैलाई उपचारका लागि भरतपुर पठाइएको छ।

जिपमा चालकसहित चार जना सवार थिए। प्रहरीले जिप चालक विकास प्रजालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कात्तिक २६, २०८२ बुधबार ०७:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।