इस्लामावादमा भएको आत्मघाती आक्रमणमा आफ्नो संलग्नता रहेको तालिवानको दाबी
एजेन्सी : मङ्गलबार पाकिस्तानको राजधानी इस्लामावादमा भएको आत्मघाती विस्फोटमा आफ्नो समूहको संलग्नता रहेको दाबी गरेको छ।
मङ्गलबार भएको उक्त आक्रमणमा १२ जनाको मृत्यु भएको बताइएको छ। ‘हाम्रा लडाकुहरूले इस्लामावादमा न्यायिक आयोगमाथि आक्रमण गरे। पाकिस्तानको गैर–इस्लामिक कानून अन्तर्गत फैसला गर्ने न्यायाधीश, वकिल र अधिकारीलाई निशाना बनाइएको थियो,’ समूहले एक विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएको छ।
विज्ञप्तिमा मुस्लिम बहुल देश पाकिस्तानमा ‘इस्लामिक शरिया कानून लागू नभएसम्म’ थप आक्रमणहरू गर्ने धम्की दिइएको छ।
गृहमन्त्री मोहसिन नकवीले विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको यसअघि सञ्चारमाध्यमलाई जानकारी गराएका थिए। उनले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको बताए।
प्रहरी र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको थियो।
कात्तिक २५, २०८२ मंगलबार १९:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।