जारी २ : जारीका दर्शकलाई उपेन्द्रको धोका

जारी २ : जारीका दर्शकलाई उपेन्द्रको धोका

फिल्म ‘जारी’ को सफलतासँगै पुलकित भएका निर्देशन उपेन्द्र सुब्बाले सबैलाई छक्क पार्नेगरी घोषणा गरे “म जारीको सिक्वेल बनाउँदिन।” फिल्मको नाम सफल भएपछि त्यही ब्रान्ड ठानेर नामको पछाडि १, २ गर्दै अङ्क थप्न लालायित हुनेहरूको भिडमा त्यो बेलामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको फिल्मको सिक्वेल बनाउँदिन भन्दा छक्क पर्नु पनि स्वाभाविकै थियो।

तर उनी पनि मान्छे नै त हो। ब्रान्डमा लोभिए। अनि ‘आफैले थुकेको थुक चाट्दै’ जारीको सिक्वेल बनाए। बहाना बनाए “च्याब्रुङको कथाले मलाई पुनर्विचार गर्न बाध्य बनायो।” यो उनको बहाना मात्र रहेछ, उनी च्याब्रुङको कथासँग लोभिएका हैनन्, जारी नामसँग लोभिएका हुन् भन्ने हलमा लागिरहेको सिक्वेलले नै पुष्टि गर्यो।

जारी शब्द जता पनि जोड्न मिल्ने शब्द नै हैन भन्ने उनी जत्तिको धुरन्धर साहित्यकारलाई सिकाउन वा सम्झाउनु पर्ने पक्ष नै हैन। जारी अर्थात् अर्काकी श्रीमतीलाई ल्याउनु वा विवाह गर्नु, जवर्जस्ती ल्याउनु। जारी तिर्नुको अर्थ अर्काकी श्रीमती ल्याउँदा पहिलो श्रीमानलाई क्षतिपूर्ति दिनु। उनी यो शब्दबारे प्रस्ट जानकार छन् भन्ने पहिलो फिल्ममा जारी शब्द अनुसारको कथाबाटै पुष्टि हुन्छ।

तर यसकै सिक्वेल बनाउने लोभमा आफ्नै बचन तोड्दै उनले जारीसँग सँग अफ च्याब्रुङ अर्थात् च्याब्रुङको गीत शब्द थपे। तर फिल्मले न जारी शब्द अनुसारको कथा बोक्न सक्यो न त च्याब्रुङको। निर्देशक सुब्बा यी शब्दमा अलमलिए, अब निर्देशक अलमलिएपछि फिल्म अलमलिने नै भयो। त्यसैले उनले ‘जारी’ मा जुन कुशलता देखाए त्यो यसको सिक्वेलमा देखाउन सकेनन्। फ्लप भए उनी।

जारी २ भन्दा अगाडि हल्का जारीको कथासारमा प्रवेश गरौँ।

पूर्व जिल्लाको पाँचथरको पहाडी गाउँका निःसन्तान लिम्बू दम्पती नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना मगर)बिच सन्तान नहुँदा सम्बन्ध चिसो बन्छ। झगडा परिरहन्छ। श्रीमानले आफूलाई थारो भनेपछि जवाफ उनले नामर्द भन्छिन्। यही निहुँमा सुरु भएको झगडा बढेर उनी माइत जान्छिन्।

माइतीमै बस्दाबस्दै हाङमाको मन अर्कै केटासँग बस्छ। उनी त्यही केटासँग जान्छिन्। तर उ नाच्ने अनि गाउने काममै मग्न हुने स्वभावको। विवाहित छोरी अर्कोसँग पोइल गए बापत माइतीले जारी तिर्न नसक्दा अन्तमा हाङमा आफ्नो पुरानो घरमा गोठालो बस्न बाध्य हुन्छिन्।

यता नाम्साङ दोस्रो विवाह गर्न चाहन्छन्। तर जति केटी हेर्दा पनि पाउँदैनन्। एकै घर-आँगनमा रहँदाबस्दा दुवैको मन साटिन्छ। अन्तमा नाम्साङ पुन हाङसँग विवाह गर्न प्रस्ताव लिएर जान्छन्। दुवैको मिलन हुन्छ।

अब लागौँ ‘जारी २ : सङ अफ च्याब्रुङ’को कथासार तर्फ।

उनले यसमा पनि जारीकै पात्र लिएका छन् नाम्साङ  र हाङ्मा। पहिलो फिल्म झैँ यसमा पनि यी दुवैको सम्बन्धमा फिल्म केन्द्रित गराउने प्रयास गरेका छन् निर्देशक सुब्बाले। जारीमा जस्तो जारी-२ मा यी दुवैको सम्बन्धमा तिक्तता छैन।

दयाहाङ लिम्बू भएता पनि उनलाई च्याब्रुङ बजाउन आउँदैन। ससुरालीले छोरी ज्वाइँलाई खुसीको उपहार स्वरूप च्याब्रुङ सहित केही दाइजो दिन्छन्। दाइजो पुर्याउन आएका हाङ्माका भाइले भिनाजुलाई च्याब्रुङ बजाउन नआउने थाहा पाएपछि सिकाइदिन्छन्।

जब नाम्साङले च्याब्रुङ बजाउन सिक्छन् तब ऊ घरभन्दा बाहिरै बढी रमाउन थाल्छन्। गाउँमा भएको नाचगानमा च्याब्रुङ बजाउन जान थालेपछि घरको काम गर्न छाड्छन्। रमाइलोमै भुल्छन्।

कथामा माओवादी द्वन्द्वको समय छिराउँदै निर्देशकले गाउँमा माओवादीका लडाकुको प्रवेश गराउँछन्। गस्तीमा आएको नेपाली सेनाले च्याब्रुङ बजाएर घर फर्कँदै गरेका नाम्साङलाई नियन्त्रणमा लिएर त्यसमा केही छ कि भनेर हेर्न खोज्दा च्याब्रुङ फुट्छ। त्यही बोकेर घर पुग्दा हाङ्मा रिसले चुर हुन्छिन्।

यता च्याब्रुङ च्यातिएको देखेपछि हाङ्माले मेरो रिस माइतीमाथि पोखिस् भनेर झगडा सुरु गर्छिन्। झगडा माइतीसम्म पुग्छ। हाङ्माका भाइ समूहसहित आएर भिनाजुलाई लखेट्छन्। यसले नाम्साङ र हाङ्माको सम्बन्धको गति बदलिन्छ। अनि हाङमा माइती जान्छिन्। उनको परिवारले अर्कैसँग विवाहको तयारी गर्छन्। अब के हुन्छ? के यी दुवै छुट्टिन्छन् या भेट हुन्छ? फिल्मको मूल कथा यसै वरपर घुमेको छ।

सबल पक्ष

फिल्मको सबैभन्दा बलियो पक्ष यसको कथा र संवाद नै हुन्। सुब्बाले कथा र संवादमा आफ्नो साहित्यिक अनुभव मज्जाले पोखेका छन्। फिल्म हेर्दा उपन्यास हेरे जस्तै अनुभव हुन्छ। कथा अनुसारको छायाङ्कन अनि ब्याकग्राउन्ड म्युजिकमा समस्या छैन।

अभिनयमा मिरुना मगरले बाजी मारेकी छिन्। ‘जारी’ कै अभिनयबाट प्रशंसा पाएकी उनले जारी-२ मा थप निखारता देखाएकी छिन्। दयाहाङ राइले आफ्नो अभिनयको लयलाई कायमै राखेका छन्। मंगलसिंह बनेका विजय बरालले दर्शकलाई हलमा टिकाउन राम्रै मिहिनेत गरेका छन्।

उनी पर्दामा रुँदा यता हलमा भने दर्शक हाँस्छन्। माओवादी विद्रोहताका ग्रामीण समाजमा परेको नकारात्मक प्रभाव देखाउने प्रयास गरेका छन् निर्देशकले।

राज्य र विद्रोहीको मारमा परेको समाज अनि संस्कृतिमाथिको प्रहारलाई फिल्ममा समेटेका छन् निर्देशकले। परिवर्तनकालमा सोझा गाउँले कुटेर र उनीहरूको संस्कृतिमाथि गरेको प्रहारलाई समेटेका छन्। धर्मको नाममा फैलिएको अन्धविश्वासलाई समेत निर्देशकले छोएका छन्।

कमजोरी

जारीको प्रारम्भ श्रीमान्-श्रीमतीको द्वन्द्वबाट सुरु गराएर भर्खर जन्मिएको बच्चाको रुवाइबाट कथा टुङ्ग्याएका निर्देशकले जसरी कौतुहलता र द्वन्द्वको निर्माण गरेर पर्दामा पस्किएका थिए त्यो रूपमा जारी-२ पुरै असफल देखिन्छ।

जारीमा कथाको प्रारम्भ सन्तान नहुँदा श्रीमान्-श्रीमतीबीच ठाकठुकबाट सुरु भएको थियो। यसमा छोरीबाट कथाको प्रारम्भ गरिएको छ। कथालाई श्रीमान् र श्रीमतीको सम्बन्धमा केन्द्रित गराए पनि जारीको पात्रको चरित्र मात्र फेरबदल गरेका छन्।

जारीमा च्याब्रुङ बजाउन हिँड्दा मिरुनाको भाइ पात्र बरालिएका थिए। उनलाई दिदी अर्काको घरमा गोठालो बस्दासम्म पनि केही गर्न नसक्ने निकम्मा चरित्र दिइएको थियो। जारी-२ मा त्यही च्याब्रुङ दयाहाईलाई बजाउन सिकाएर उनलाई घर परिवारको वास्ता नगर्ने, च्याब्रुङ बजाएर बराल्लिने पात्रमा रूपान्तरण गरेका छन्।

च्याब्रुङको कथा भन्ने भनेर निर्देशक कहिले माओवादी द्धन्द्धतिर बरालिएका छन् त कहिले धार्मिक र सांस्कृतिक प्रहारतिर। उनले कथालाई एकीकृत गराउनै सकेका छैनन्। उनी कथामा पुरै अलमलिएका छन्। त्यसले फिल्म पनि पुरै अलमलिएको छ।

हराएको श्रीमान् खोज्न मिरुनाले गरेको संघर्ष यो फिल्मको अर्को सबैभन्दा कमजोर पक्ष हो। उनलाई श्रीमान् खोज्न निर्देशकले खोलाखोला अनि घरघर दौडाएका छन्। जारीको ल्यान्डिङ अनुमान गर्न गाह्रो थियो। तर जारी-२ को ल्यान्डिङ सहजै अनुमान गर्न सकिन्छ।

यो फिल्मले निर्देशक सुब्बा जारी-२ बनाउन मानसिक रूपमा तयार थिएनन् तर फिल्म अन्य निर्मातामा रहेको ब्रान्डको लोभ उनमा पनि पलाउँदा जवरजस्ती फिल्म लेखेर निर्देशन गरेको देखिन्छ। जसको नतिजामा उनले जारीबाट पाएको वाहवाही र प्रशंसाको मात्रा जारी-२ बाट घटाएका छन्।

उपन्यास हेर्न भन्दा पढ्नै मजा आउँछ। उनले यो बिर्सिए वा जानाजान बिर्सिएको नाटक गरे उनी नै जानुन्। फिल्म जारी-२ हेर्दा उनले प्रकाशित गर्नुपर्ने कथालाई जवर्जस्ती दृश्य भाषामा ढाल्ने गल्ती गरेको छर्लङ्गै देखिन्छन्।

कात्तिक २५, २०८२ मंगलबार १८:५७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।