फ्लडलाइटमै एनपीएल गराउने क्यानको घोषणाले गुणस्तरमाथि प्रश्न, आयोजना प्रमुख भन्छन्- ‘शंका गर्न सकिन्छ’

फ्लडलाइटमै एनपीएल गराउने क्यानको घोषणाले गुणस्तरमाथि प्रश्न, आयोजना प्रमुख भन्छन्- ‘शंका गर्न सकिन्छ’

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ गतेदेखि फ्लडलाइटमै नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेसँगै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको चटारो बढेको छ।

तर, प्रतियोगिताको मिति नजिकिँदै गर्दा दबाबमा सम्पन्न गर्न लागिएको यो पूर्वाधार निर्माणको गुणस्तर र प्राविधिक विश्वसनीयतामाथि गम्भीर प्रश्नहरू उठेका छन्।

क्यानले प्रतियोगिताका अधिकांश खेल रात्रिकालीन हुने तालिका सार्वजनिक गरेको भए पनि मैदानको यथार्थले भने हतारमा काम सक्दा अन्तर्राष्ट्रिय मापदण्डमा सम्झौता हुन सक्ने जोखिम देखिएको छ।

मैदानमा भइरहेको कामको गति र अवस्थाले गुणस्तरको चिन्तालाई थप बल दिएको छ।

हालसम्म ६ मध्ये एउटा मात्र पोल (पोल नम्बर ५) को ‘एमिङ र टेस्टिङ’ जस्तो जटिल प्राविधिक काम सकिएको छ, जसमा तीन दिनभन्दा बढी समय लागेको थियो।

बाँकी पाँच पोलमध्ये दुई वटामा (पोल नं. २ र ३) अहिलेसम्म एउटा पनि लाइट जडान गरिएको छैन भने १ नम्बर पोलमा आधा पनि लाइटहरू जोडिएको छैन।

एउटा पोलको परीक्षणमा लागेको समयलाई आधार मान्ने हो भने, बाँकी सबै पोलमा लाइट जडान गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण सक्न उपलब्ध समय अपर्याप्त देखिन्छ।

यसले निर्माण कम्पनीले कि त रातारात काम सक्नुपर्छ, कि त परीक्षणका कैयौं महत्वपूर्ण चरणहरूलाई बेवास्ता गर्नुपर्नेछ, जुन दुवै अवस्था गुणस्तरका लागि घातक हुन्छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा चिसोका कारण रातमा काम गर्नसक्ने अवस्था नै छैन। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर समेत रहेका इन्जिनियर सौरभ शाहले रातको समयमा टेस्टिङको काम गरिए पनि पोलमा चढेर गरिने काम सम्भव नभएको बताउँछन्।

यस विषयमा सरोकारवाला निकायहरूको मत पनि बाझिएको छ, जसले क्यानको हतारोलाई थप शंकाको घेरामा तानेको छ। सहरी विकास मन्त्रालयका तर्फबाट खटाइएका आयोजना प्रमुख चक्रवती कन्ठ आफैँ काम समयमै सकिनेमा ढुक्क छैनन्।

‘काम पूरा नहुँदासम्म शंका गर्न सकिन्छ’ भन्दै उनले प्राविधिक रूपमा प्रमाणित नभएसम्म आयोजना स्वीकार नगर्ने संकेत दिएका छन्। उता, ठेक्का पाएको कम्पनीका तर्फबाट इन्जिनियर शाहले पनि एनपीएलअघि काम सक्नुलाई ‘चुनौतीपूर्ण’ भनेका छन्।

फ्लडलाइट जडान केवल पोलमा बत्ती बाल्नु मात्र होइन, यो एक संवेदनशील प्राविधिक प्रक्रिया पनि हो। जसलाई आईसीसीले तोकेको मापदण्डभित्र रहेर सम्पन्न गर्नुपर्छ।

यसमा विद्युत प्रणालीको सुरक्षा परीक्षण, मैदानमा लक्स लेभलको समान वितरण, कलर टेम्परेचरको एकरूपता र आपत्कालीन ब्याकअप प्रणालीको परीक्षणजस्ता अनेकौं चरणहरू पर्छन्, जसका लागि सामान्यतया ५ देखि ७ दिनको समय आवश्यक हुन्छ।

तर, निर्माण कम्पनीले बिहीबारसम्म सबै बत्ती बालेर बाँकी दुई दिनमा एमिङ र अन्य काम सक्ने लक्ष्य राखेको छ, जुन प्राविधिक रूपमा असम्भवप्रायः देखिन्छ।

क्यानको एनपीएललाई भव्य बनाउने हतारोले दीर्घकालीन महत्व राख्ने पूर्वाधारको गुणस्तरलाई दाउमा लगाएको देखिन्छ। यसले निर्धारित समयमा बत्ती बल्न त सक्छ, तर के त्यो अन्तर्राष्ट्रिय स्तरको खेल र प्रसारणका लागि योग्य होला? प्रश्न त उठ्छ नै!

कात्तिक २५, २०८२ मंगलबार १४:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।