दिल्ली विस्फोटमा प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त, नेपाल भारतको साथमा रहेको सन्देश

दिल्ली विस्फोटमा प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त, नेपाल भारतको साथमा रहेको सन्देश

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको कार विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश जारी गर्दै दुःखको यस घडीमा नेपाल भारतको साथमा रहेको बताएकी हुन्।

सोमबार साँझ दिल्लीस्थित ऐतिहासिक लाल किल्ला मेट्रो स्टेशन नजिकै एउटा कारमा विस्फोट भएको थियो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार घटनामा नौ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोटको घटनाले म स्तब्ध र दुःखी छु। शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दुःखको यो घडीमा नेपाल भारतको साथमा उभिएको छ।’

यो घटनापछि भारत सरकारले विभिन्न राज्यमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। विस्फोटको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूका लागि एक सुरक्षा चेतावनीसमेत जारी गरेको छ।

दूतावासले जारी गरेको सूचनामा आफ्ना नागरिकहरूलाई दिल्लीको लाल किल्ला र चाँदनी चोक जस्ता भिडभाड हुने इलाकामा नजान, ठूला जमघटबाट टाढै रहन र आफ्नो वरपरको वातावरणप्रति सचेत रहन आग्रह गरेको छ। साथै, घटनाको पछिल्लो जानकारीका लागि स्थानीय सञ्चारमाध्यममा ध्यान दिन पनि सुझाइएको छ।

कात्तिक २५, २०८२ मंगलबार १२:१०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।