कपटपूर्ण तरिकाले होटलमै मुख्यमन्त्रीको शपथ खुवाउने प्रदेश प्रमुख पदमुक्त
काठमाडौं : कपटपूर्ण तरिकाले होटलमै मुख्यमन्त्रीको शपथ खुवाउने मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई मंगलबार विहान पदबाट हटाएका हुन्।
आइतबार रातिसम्म मधेश प्रदेशमा सरकार कसले बनाउने भन्ने तनावका बीचमा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको पक्षमा रहेका सात दलले आफ्नो बहुमत रहेको दाबी गर्दै थिए भने प्रदेशको सबैभन्दा ठूलो दल एमालेले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने माग गरिरहेको थियो।
यही तनावका बीच प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान उज्यालो नहुँदै कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनललाई फोन गरिन्। उनले आफू बिरामी भएको र उपचारका लागि काठमाडौं जान लागेको बताइन्। सोनलले पनि बिरामीको कुरा सुनेर उनलाई जान सहज बनाइदिए।
तर, काठमाडौं हिँडेकी भण्डारी बर्दिबासमा रहेको पानस कटेज होटलमा रोकिइन्। त्यहाँ एमाले संसदीय दलका नेता सरोजकुमार यादव उनलाई पर्खिरहेका थिए। प्रदेश प्रमुख भण्डारीले त्यही होटलभित्र यादवलाई मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा शपथ गराइन्। यो घटनापछि उनी सिधै काठमाडौं लागिन्।
प्रदेश प्रमुखले जनकपुर छोडेर होटलमा गोप्य रूपमा शपथ गराएको खबर फैलिनेबित्तिकै मधेश प्रदेशको राजधानी जनकपुरमा तनाव बढ्यो। जितेन्द्र सोनललाई समर्थन गर्ने सात दलका नेता तथा कार्यकर्ताहरूले मधेश भवन (मुख्यमन्त्री कार्यालय) अगाडि प्रदर्शन गरे।
प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि नाराबाजी गर्दै उनको नेमप्लेट फुटाए। केहीले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरे, जहाँ एक कर्मचारीमाथि हातपात पनि भयो। दिनभरको तनावका कारण नयाँ मुख्यमन्त्री सरोजकुमार यादव आफ्नो कार्यालय जान सकेनन्। उनी जनकपुरकै एक होटलमा बस्न बाध्य भए।
प्रदेश प्रमुखले निष्पक्ष भूमिका खेल्नुपर्नेमा दलीय पक्षधरता देखाएको र प्रदेशको राजधानीभन्दा बाहिर, एक निजी होटलमा गएर मुख्यमन्त्रीलाई शपथ गराएको कार्यको चौतर्फी आलोचना भयो। यसलाई संवैधानिक मर्यादाविपरीतको कदम मानियो।
यही घटनापछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्यो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई पदमुक्त गरेका हुन्। सरकारले उनको ठाउँमा सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख बनाउन सिफारिस गरेको छ।
एमालेले भने प्रदेशमा कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि संविधानअनुसार नै सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिएको र शपथ कहाँ भयो भन्ने कुरा प्राविधिक मात्र भएको कुतर्क गरेको छ।
कात्तिक २५, २०८२ मंगलबार ११:५७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।