मोदी सरकारकै मन्त्रीले फैलाए अभिनेता धर्मेन्द्रको निधन भएको हल्ला, परिवारद्वारा खण्डन

मोदी सरकारकै मन्त्रीले फैलाए अभिनेता धर्मेन्द्रको निधन भएको हल्ला, परिवारद्वारा खण्डन

एजेन्सी : बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको खबर फैलिको छ, तर उनको परिवारले यो खबरलाई पूर्ण रूपमा खण्डन गरेको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि ८९ वर्षीय धर्मेन्द्रलाई सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको उपचार भइरहेको छ।

सोमबार राति उनको निधनको हल्ला यति फैलियो कि रक्षामन्त्री राजनाथ सिंहले समेत उनको निधनमा शोक व्यक्त गर्दै एक्समा पोस्ट गरेका थिए, तर पछि त्यसलाई हटाए।

यो हल्लापछि धर्मेन्द्रकी छोरी ईशा देओलले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्, ‘मिडियाले गलत खबर फैलाइरहेको छ। पापाको अवस्था स्थिर छ र उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। हामी सबैलाई हाम्रो परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गर्दछौँ। पापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएकोमा सबैलाई धन्यवाद।’

अस्पताल स्रोतका अनुसार, धर्मेन्द्रको अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ र आगामी ७२ घण्टा उनको स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुनेछ।

यो खबर पाएलगत्तै उनका छोराहरू सनी देओल र बबी देओल, पत्नी हेमा मालिनीलगायत बलिउडका चर्चित कलाकारहरू शाहरुख खान, सलमान खान, गोविन्दा र अमिषा पटेल उनलाई भेट्न अस्पताल पुगेका थिए।

सन् १९३५ डिसेम्बर ८ मा पञ्जाबमा जन्मेका धर्मेन्द्रले आफ्नो फिल्मी यात्राको प्रेरणा दिलीप कुमारबाट पाएका थिए। सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट डेब्यु गर्दा उनले पारिश्रमिकबापत मात्र ५१ रुपैयाँ पाएका थिए। संघर्षका दिनमा उनी कहिलेकाहीँ चना खाएर बेन्चमा सुत्ने गर्थे।

आफ्नो आकर्षक व्यक्तित्वका कारण उनलाई भारतीय सिनेमाको सबैभन्दा सुन्दर अभिनेतामध्ये एक मानिन्छ। एक पटक उनलाई देखेर देव आनन्दले भनेका थिए, ‘भगवान, यस्तो अनुहार मलाई किन दिएनौ?’ त्यस्तै, दिलीप कुमारले पनि अर्को जन्ममा धर्मेन्द्र जस्तै देखिन चाहेको बताएका थिए।

आफ्नो ६ दशक लामो करियरमा ३०० भन्दा बढी फिल्ममा काम गरेका धर्मेन्द्र चाँडै नै ‘इक्कीस’ नामक फिल्ममा देखिँदैछन्।

कात्तिक २५, २०८२ मंगलबार १०:०९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।