बनेपा हिरासतबाट भागेका पाँच प्रतिवादी पक्राउ
काभ्रेपलाञ्चोक : ‘जेनजी आन्दोलन’का क्रममा गत भदौ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा भएको तोडफोडका बेला हिरासतबाट भागेका १२ मध्ये पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी पुनः हिरासतमा राखेको जनाएको छ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पक्राउ पर्नेहरूमा अभद्र व्यवहार मुद्दाका पनौती नगरपालिका-४ का २८ वर्षीय सरोज पोडे, पनौती-९ का ३३ वर्षीय उत्तमबहादुर तिमल्सिना र रोशी गाउँपालिका-९ का ४६ वर्षीय नरबहादुर लुङ्गेली रहेका छन्।
त्यसैगरी, जबरजस्ती करणी मुद्दाका खोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ का २३ वर्षीय प्रविन मगर र सवारी अंगभंग मुद्दाका रोशी गाउँपालिका-१ का ३२ वर्षीय भीमबहादुर सुनारलाई पनि पक्राउ गरिएको छ।
विष्टका अनुसार उनीहरूलाई सोमबार पक्राउ गरी मुद्दामाथि थप अनुसन्धान थालिएको छ।
काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका क्रममा जिल्लाभर भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको बताए।
उनका अनुसार प्रहरी कार्यालय बनेपामा भएको आक्रमणमा संलग्न ११ जनालाई यसअघि नै पक्राउ गरी अनुसन्धान थालिएको छ। प्रदर्शनका क्रममा जिल्लाका १८ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको थियो।
यसैबीच, सोही आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका अन्य ५३ जना कैदीबन्दीलाई पनि काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई धुलिखेलस्थित जिल्ला कारागारमार्फत सम्बन्धित कारागारमा फिर्ता पठाइएको छ।
कात्तिक २५, २०८२ मंगलबार ०९:५९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।