महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै

महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै

काठमाडौं : किरात धर्मावलम्बीहरूले आफ्ना महागुरु फाल्गुनन्दको १४१औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन्।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा जन्मनुभएका फाल्गुनन्दले किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा महत्त्वपूर्ण योगदान पुऱ्याएका थिए।

उनले समाज सुधारका लागि वि.सं. १९८८ वैशाख २४ गते ‘सत्य धर्म मुचुल्का’ नामक नीति निर्माण गरी जारी गरेको थियो।

समाज सुधारक फाल्गुनन्दको निधन वि.सं. २००५ मा भएको थियो। समाज सुधारमा उनले पुऱ्याएका योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो।

उनको सम्मानमा विशेषगरी पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र झापालगायत देशभरका किरात समुदायले फाल्गुनन्द जयन्ती मनाउँछन्।

यसै अवसरमा राजधानी काठमाडौंमा पनि विशेष कार्यक्रमहरू आयोजना गरिने किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।

कात्तिक २५, २०८२ मंगलबार ०८:५७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।