जेनजी प्रदर्शन : प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाटमा संलग्न १२ जना पक्राउ

जेनजी प्रदर्शन : प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाटमा संलग्न १२ जना पक्राउ
फाइल तस्बिर

झापा : जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटपाट गरेको आरोपमा झापा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा भएको आक्रमणको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिसीटिभी फुटेज, भिडियो र फोटोको विश्लेषणका आधारमा अभियुक्तहरूको पहिचान गरी नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा विर्तामोड–५ का ४५ वर्षीय नवराज राई, २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयूष धिमाल र २४ वर्षीया पूजा मगर छन्।

त्यसैगरी, कनकाई नगरपालिका–१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, कनकाई–३ का २५ वर्षीय विष्णु विक, शिवसताक्षी–१० का २५ वर्षीय कुशल तिम्सिना र ३१ वर्षीय सञ्जय बस्नेतलाई पनि पक्राउ गरिएको छ।

यस्तै, अर्जुनधारा–७ का २८ वर्षीय सुरज राई, दमक–३ का १९ वर्षीय रियाज सिलवाल, इलामको चुलाचुली–३ का २२ वर्षीय नकुल अधिकारी तथा पाँचथरको मिक्लाजुङ–५ घर भई हाल दमकमा बस्दै आएका २२ वर्षीय साजन ल्हागुन पनि पक्राउ परेका छन्।

प्रहरी प्रवक्ता खड्काका अनुसार पक्राउ परेकाहरूविरुद्ध आपराधिक उपद्रव र ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

भदौ २४ को सो घटनामा लुटिएका ९९ थान हतियारमध्ये ७७ थान फिर्ता भइसकेको र बाँकी २२ थान अझै बरामद हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

कात्तिक २५, २०८२ मंगलबार ०७:३६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।