टेन्डर प्रक्रियाको विरोधमा बन्द बुटवलको कृषि थोक बजार केन्द्र आंशिक खुल्यो

टेन्डर प्रक्रियाको विरोधमा बन्द बुटवलको कृषि थोक बजार केन्द्र आंशिक खुल्यो

बुटवल : जिल्ला अदालत रुपन्देहीको आदेशपछि टेन्डर प्रक्रियाको विरोध गर्दै व्यवसायीहरूले बन्द गराएको बुटवलको कृषि थोक बजार केन्द्र आंशिक खुलेको छ। जिल्ला अदालत रुपन्देहीले बुटवल कृषि उपज बजार केन्द्र नियमित टेन्डरमा जानुपर्ने फैसला गरेपछि व्यवसायीहरूले अदालतको पूर्ण पाठ आउनुपर्ने, पुनरावेदनका लागि समय दिनुपर्ने माग राख्दै थोक बजार केन्द्र २ दिनदेखि बन्द गराएका थिए। 

तर उपभोक्तामा पर्न जाने असुविधालाई ध्यानमा राख्दै आन्दोलनको कार्यक्रमको मोडालिटी परिवर्तन गर्दै व्यवसायीहरू बजार सञ्चालन गर्न तयार भएका हुन्। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले व्यवसायीको आन्दोलनले उपभोक्तालाई कठिनाइ हुने भन्दै सहजीकरण गरे सँगै बजार खुल्ला भएको जानकारी दिए। 

व्यवसायीहरूले अन्य आन्दोलनका कार्यक्रमहरू यथावत् रहेको बताएका छन्। बुटवल कृषि उपज केन्द्र सञ्चालक समितिले गत वर्षको भदौमा सूचना प्रकाशित गरेर बोलपत्रको दर्ता गरे पनि लुम्बिनी फलफूल तरकारी व्यवसायी संघको तर्फबाट सन्तोष अग्रहरी सहितले विगतमा भएको करारलाई निरन्तरता पाउनुपर्ने माग सहित अदालतमा मुद्दा दायर गरेका थिए। 

तर उक्त मुद्दा खारेज गरेर अदालतले रोकिएको टेण्डर खुलाउन आदेश दिएको थियो। अदालतको आदेशपछि बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले टेन्डर खोल्ने प्रक्रिया अगाडी बढाएको थियो। तर त्यहाँ व्यवसाय गरिरहेका व्यवसायीहरूले अदालतको पूर्ण फैसला नआउँदै व्यवसायीलाई विस्थापित गर्ने उद्देश्यले सहित टेन्डर खोल्न लागेको भन्दै बजार नै बन्द गरेर विरोध जनाएका थिए। 

लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले आफूहरूलाई पुनरावेदन गर्ने समय नदिईकनै हतारमा टेन्डर खुल्ला गर्ने निर्णय गरेकाले त्यसको विरोध स्वरूप गरेको बताए। उनले उपभोक्तालाई मर्का नपर्ने गरी आन्दोलन गर्ने मोडालिटि अनुसार बजार खुल्ला गरिएको र अन्य मागहरू आफूहरूको यथावत् रहेको बताए। 

 अदालतको आदेश पछि गत शुक्रवार सञ्चालक समितिको बैठकले आइतबार १ बजे रोकिएको बोलपत्र खोल्ने निर्णय गरेको थियो। तर व्यवसायीको आन्दोलन पछि बोलपत्र खुल्ला गरिएको छैन। अर्का व्यवसायी कलाधर पन्थीले बजार निर्माण सुरु गर्दाको समयमा भएको व्यवसायी, स्थानीय सरकार सहित त्रिपक्षीय सम्झौता भएको र उक्त सम्झौता पालना हुँदा समेत टेन्डरमा गएको बताए। 

'अहिलेको सञ्चालक समितिले त्रिपक्षीय सम्झौता विपरीत यहाँका व्यवसायीलाई विस्थापित गर्ने गरी लागेपछि हामी अदालत गएका हौ। अदालतबाट आदेश आएको छ। तर पुनरावेदन गर्ने समय नदिई हतारमा टेन्डर खोल्न खोजिएको छ। त्यसैले विरोध जनाइएको हो’ उनले भने। 

उनले ०८२ मंसिर १७ गते अहिलेको सञ्चालक समितिको कार्य अवधि सकिने र निर्वाचन हुनु ३५ दिन अघि सूचना जारी हुनुपर्ने भन्दै यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न माग गरे। 

२०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो। सोही अनुसार ६८ वटा सटरका लागि २६७ वटा बोलपत्र दर्ता गरेर बैंक ग्यारेन्टी समेत लिइएको थियो। अदालतको आदेश उक्त बोलपत्र खुल्ला गर्ने क्रममा व्यवसायीबाट बजार बन्द गरिएको बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले बताए। 

 यता बोलपत्र आव्हानमा सहभागी भएका व्यवसायीहरूले भने अदालतको आदेश आइसकेको भन्दै सञ्चालक समितिलाई यथाशीघ्र टेन्डर खोल्न आग्रह गरेका छन्। व्यवसायी रिसभ पोखरेलले एक वर्ष सम्म आफूहरूको बैंक ग्यारेन्टी रोकिएको भन्दै अदालतको आदेश आइसकेकाले छिट्टो टेन्डर खुलाउन माग गरे। उनले १० वटा सटर नियमअनुसार किसानले समेत पाउनुपर्ने बताए।

 २०६७ सालमा १० वर्षका लागि तरकारी तथा फलफूल व्यवसायीसँग सम्झौता भएको थियो। उक्त सम्झौतामा २०७७ भदौमा सकिएपछि कृषि मन्त्रालयको कृषि बजार प्रवर्द्धन केन्द्र र बुटवल उपमहानगरले सञ्चालक समितिलाई सटर भाडामा लगाउने प्रक्रिया थाल्न निर्देशन दिएको थियो। तर कोभिड लगायत कारणले ढिलाइ भएको थियो । १५ वर्षअघि निर्माण भएको बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा कृषि मन्त्रालयको ६०, बुटवल उपमहानगरको २४ र लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी सङ्घको १६ प्रतिशत लगानी छ।

कात्तिक २४, २०८२ सोमबार २१:१८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।