भरतपुर महानगरपालिकाले १६ करोड बजेट कटौती, विकास कार्यक्रममा असर
चितवन : भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको १६ करोड रुपैयाँभन्दा बढी बजेट कटौती गरेको छ। जेनजी समूहको आन्दोलनमा भएको तोडफोड र आगजनीमा परेका संरचना पुनर्निर्माण तथा विभिन्न सामग्री खरिदका लागि यो रकम आवश्यक परेको महानगरले जनाएको छ।
उपप्रमुख चित्रसेन अधिकारीका अनुसार महानगरतर्फको ८ करोड ४६ लाख र वडातर्फको ८ करोड ७१ लाख रुपैयाँ बजेट कटौती भएको छ। प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलको संयोजकत्वमा गठित पुनःप्राथमिकीकरण कार्यदलले गरेको सिफारिसअनुसार यो कटौती गरिएको हो।
महानगरले प्रत्येक वडाको ३० लाख बराबरको बजेट कटौती गरेको छ। उपप्रमुख अधिकारीले प्राथमिकतालाई ध्यान दिएर बजेट कटौती गरिएको बताइन्। "वडातर्फ चालूका परामर्श सेवाका बजेट बढी कटौती गरिएको छ," उनले भनिन्, "महानगरको बजेट पनि कटौतीमा परेको छ, वडालाई दिइएका बजेट पनि कटौतीमा परेका छन्।"
भरतपुर महानगरले नगरस्तरीय विनियोजन गरेको बजेट पनि कटौतीमा परेको छ। महानगरका पूर्वाधार विकास, युवा तथा खेलकुद, पशुसेवा विकास, शिक्षा, वातावरण तथा हरियाली प्रवर्धन, सेवा प्रवाह र प्रशासन, स्वास्थ्य लगायतका क्षेत्रको बजेट कटौती भएका छन्। यस्तै, भरतपुर महानगरले वडातर्फ सबै चालू अन्तर्गतका बजेट कटौती गरेको छ।
महानगरको पूर्वाधार विकास अन्तर्गत २८ वटा योजना काटिएको छ। २३ लाख ६० हजार बराबर पूर्वाधार विकास अन्तर्गतका बजेट कटौती भएका हुन्। युवा तथा खेलकुदतर्फ २२ लाख ४० हजार, राजस्व प्रशासन तथा वित्तीय सुशासनतर्फ १० लाख ७० हजार, पशुसेवा विकास कार्यक्रमतर्फ ८ लाख ६० हजार, पर्यटन तथा उद्योग क्षेत्रको कार्यक्रमतर्फ २८ लाख, शैक्षिक उन्नयनतर्फ ४४ लाख ५१ हजार, रोजगारी सिर्जना तथा सहकारी प्रवर्धनतर्फ ९ लाख, लक्षित वर्ग उत्थान सशक्तीकरण एवम् सामाजिक समावेशीकरणतर्फ तीन लाख रुपैयाँ बजेट कटौती भएको छ।
यस्तै, सूचना प्रविधि प्रयोग तथा डिजिटल प्रणालीतर्फको ११ लाख बजेट कटौती भएको छ। सुशासन प्रशासन तथा जनशक्ति विकासतर्फ पाँच लाख, वातावरण तथा हरियाली प्रवर्धनतर्फ ६८ लाख बराबरका १३ वटा कार्यक्रम कटौती भएका छन्। सेवा प्रवाह र प्रशासनतर्फ १८ लाख ७० हजार कटौती भएको छ। विपद् तथा प्रकोप व्यवस्थापनतर्फ पनि न्यूनतम बजेट कटौती भएका छन्। स्वास्थ्यतर्फ मात्रै २६ लाख रुपैयाँ बराबरको ६ वटा कार्यक्रम कटौती भएका छन्।
स्वास्थ्यतर्फ भरतपुर अस्पताललाई महिला ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएकालाई निःशुल्क ओपिडी बापत अनुदानका लागि विनियोजन गरेको १० लाख बजेट पनि कटौती भएको छ। कृषितर्फका ५८ लाख बजेट कटौती भएको छ।
"मिलाएर सबै क्षेत्रमा विनियोजन गरिएको बजेट कटौतीमा परेका छन्, मूलतः विकासमा खर्च गरिने बजेट कटौती गरिएको छैन," उपप्रमुख अधिकारीले भनिन्, "कटौती गरिएको रकम क्षतिग्रस्त भवनहरू पुनर्निर्माण देखि विद्युतीय उपकरण सम्म, फर्निचरका सामग्री देखि कागजपत्र खरिदमा खर्च गरिने छ।"
भरतपुर महानगरले वडाको विकासका लागि विनियोजन गरेको बजेट पनि कटौतीमा परेका छन्। २८ वटै वडाको ३० लाखको बजेट कटौती भएको र त्यो बजेट पनि वडाको संरचना निर्माणमा लगाइने महानगरले जनाएको छ।
भरतपुर वडा नं. ३ का वडाध्यक्ष विकास थापाले ३ नं वडाको पनि ३० लाख बराबरको बजेट कटौती भएको बताए। "चालूतर्फका १२ वटा योजना र कार्यक्रम कटौती भएका छन्," उनले भने, "वडाको पुँजीगततर्फका कुनै कार्यक्रम र बजेट कटौती भएका छैनन्, चालूतर्फ योजना र कार्यक्रम काटिएका हुन्।" वडा नं. ३ को आगजनीमा परेको भवनलाई रातो स्टिकर टाँस गरिएको छ, वडा कार्यालय नजिकै नगर वन स्वास्थ्य चौकीको भवनबाट सेवा दिइरहेको वडाध्यक्ष थापाले बताए।
विभिन्न वडामा फरक फरक सङ्ख्यामा योजना र कार्यक्रम कटौती भएका छन्। वडा नं. २ को १८ वटा योजना, वडा नं. १ को २२ वटा, वडा नं. ४ को ९ वटा, वडा नं. ५ को १३ वटा, वडा नं. ६ को १० वटा, वडा नं. ७ को २१ वटा, वडा नं. ८ को ७ वटा, वडा नं. ९ को १० वटा, वडा नं. १० को १५ वटा, वडा नं. ११ को १८ वटा, वडा नं. १२ को १३ वटा योजना र कार्यक्रम कटौती भएको छ।
यस्तै, वडा नं. १३ को १३ वटा, वडा नं. १४ को १३ वटा, वडा नं. १५ को १३ वटा, वडा नं. १६ को १३ वटा, १७ को १० वटा, १८ को १३ वटा, १९ को १९ वटा, २० को १३ वटा, २१ को १४ वटा, २२ मा १० वटा, २३ मा १६ वटा, २४ मा १७ वटा योजना तथा कार्यक्रम कटौती भएका छन्। यस्तै, २५ मा १२ वटा, २६ मा १४ वटा, २७ मा १८ वटा, २८ मा १८ वटा, २९ नं वडामा १७ वटा कार्यक्रम तथा योजना कटौती भएका छन्।
-किशोर खनाल
कात्तिक २४, २०८२ सोमबार १९:४७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।