कटेजमा मुख्यमन्त्री शपथ खुवाउने मधेस प्रदेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

कटेजमा मुख्यमन्त्री शपथ खुवाउने मधेस प्रदेश प्रमुख सुमित्रा पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

काठमाडौं : मुख्यमन्त्री नियुक्ति र शपथ कटेजमा गराएर विवादमा आएकी मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमका कारण भण्डारीलाई पदमुक्त गरिएको हो।
‘मधेसमा देखिएको विवाद र संविधान विपरीतको कार्यका आधारमा उहाँलाई हटाइएको हो,’ मन्त्री खरेलले भने।

मधेस प्रदेशमा सरकार गठनमा बढेको अन्योल समाधान गर्नुको साटो एमालेका सांसदलाई कटेजमा बोलाएर मुख्यमन्त्रीको शपथ खुवाएपछि उनी विवादमा तानिएकी थिइन्। आइतबार नेपाली कांग्रेससहितका सात दलले संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

त्यसपछि प्रदेश प्रमुख भण्डारी बिरामीको बहानामा सरकारी निवासबाट बिहान निस्किएर होटेल पानसमा संविधानको धारा १६८(३) बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री र दुई मन्त्रीलाई कटेजमै शपथ खुवाएकी थिइन्।

भण्डारीको सो कदमको विरोधमा मधेसका दलहरू आन्दोलित भएका थिए। अन्य दलहरू मुख्यमन्त्रीको निर्णयको विरोधमा सर्वोच्च जाने तयारीमा थिए भने सोमबारै उनको निर्णय विरुद्ध सर्वोच्चमा रिट समेत गरेको थियो।

सरकारले सोमबारै नयाँ प्रदेश प्रमुखका रूपमा सुरेन्द्र लाभलाई नियुक्तिका लागि सिफारिस गरेको छ। सोमबारकै मन्त्रिपरिषद् बैठकले लाभको नाम राष्ट्रपति समक्ष पठाएको हो।

कात्तिक २४, २०८२ सोमबार १९:३५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।