ओलीलाई तानाशाह भन्दै दल फुटाएकी रामकुमारी प्रशंसक भएर फर्किइन्
काठमाडौं : एमालेमा केपी ओलीको तानाशाही व्यवहारको विरोधमा विद्रोह गर्ने भन्दै २०७८ भदौ २ गते नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा जाँदा माधव नेपालको हात समातेर तानिरहेको रामकुमारी झाँक्रीको तस्बिर निकै चर्चित भयो। यो तस्बिरलाई पाका नेतालाई अब युवा नेतृत्वले दोहोर्याउने विम्बको रूपमा समेत अर्थ्याइयो।
पार्टी भित्रको विवादका कारण दुई पटक संसद् विघटन गर्ने र पार्टीका नेताहरूमाथि बारम्बार कारबाही गर्ने ओलीको व्यवहारको विरोधमा एमालेका नेपाल र झाँक्रीसहितको समूहले विद्रोह गरेर एकीकृत समाजवादी पार्टी दर्ता गराएका थिए।
तर निर्वाचन आयोग परिसरमा खिचिएको त्यो तस्बिर जुन रूपमा बिम्ब बन्न सकेको थियो अवस्था भिन्न थियो भन्ने सोमबार पुष्टि भयो। यो चार वर्षको बिचमा नेपाल पार्टीको एक समूह लिएर माओवादी केन्द्रसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टीमा रूपान्तरण भए। उता विद्रोही छवि बनाएकी झाँक्री जुन नेताको तानाशाहीको विरोधमा विद्रोहमा उभिएकी थिइन् उनैको नेतृत्व निशर्त स्वीकार गर्दै सोमबार एमालेमा फर्किइन्।
झाँक्रीले ओलीको जुन शैलीको विरोध गरेर एकीकृत समाजवादीको गठनमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् यो बिचमा ओली थप निरङ्कुश देखिएका छन्। उनको नेतृत्वमा बनेको सरकारको दम्भी शैलीका कारण जेनजी विद्रोह भएर उनी प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टर भाग्न बाध्य भए।
एमाले अहिले महाधिवेशनको तयारीमा छ। तर ओली पुरै तानाशाही शैलीमा महाधिवेशनमा आफू मात्र बोल्ने, अन्य नेताहरूले बोल्न नपाउने तर्क गरिरहेका छन्। मन्त्री नियुक्त गर्नेदेखि लिएर माधव नेपालमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सार्वजनिक रूपमा दिएको अभिव्यक्तिका कारण झाँक्री र नेपालको सम्बन्ध चिसिइसकेको थियो।
त्यसैले नेपाल सहजै माओवादीसहितको साना दलसँगको एकताबाट बन्ने नेपाली कम्युनिस्ट पार्टीमा जान सहमतहुँदा झाँक्री तयार भइनन्। अर्का नेता घनश्याम भुसाल नयाँ मोर्चा गठनको छलफलमै रहँदा झाँक्री भने ओलीको उही पुरानै स्वरूप स्वीकार गर्दै किशन श्रेष्ठसहित सोमबार एमालेमा फर्किइन्।
सोमबार राष्ट्रिय सभा गृहमा ‘घर फर्क’ अभियान नाम राखेर ओलीले झाँक्रीलाई निसर्त एमालेमा फर्काए। एमाले छाड्नु र एमालेमा फर्कनुमा व्यक्तिगत स्वार्थ बाहेक सैद्धान्तिक कारण खुलाउन नसकेकी उनले कार्यक्रममा भने यो कदम व्यक्तिगत स्वार्थ वा अवसरका लागि नभएको फितलो तर्क गरिन्।
“रामकुमारी झाँक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको हो। अवसरहरू निर्माण गर्न हजारौँ पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ,” उनले दाबी गरिन्, “व्यक्तिगत लाभका लागि होइन, देशको रिकभर गर्न एमाले उठ्नुपर्ने बेला भएको हो।”
जेन–जेडलाई पनि एमालेमा आउन आह्वान
जेनजी पुस्ताको विद्रोहको केन्द्रमा केपी ओली थिए। अहिले पनि जेनजी पुस्ताले भदौ २३ गते नयाँबानेश्वरमा गोली चलेर ३२ जनाको ज्यान जानुको मुख्य कारक ओली हुन् भनिरहेका छन्। तर एमाले प्रवेशपछि झाँक्री नयाँ पुस्तालाई ओली नेतृत्वको पार्टीमा आउन आग्रह गर्न हिचकिचाइनन्।
“जेनजी पुस्ताका साथीहरू आउनुस्, गोलबन्द बनौँ। तपाईँहरू आफ्नै पार्टी बनाउँदै हुनुहुन्न भने हामीजस्तै एमालेमा आउनुस्,” उनले भनिन्, “एमालेले चारै ढोका खोलिसकेको छ।”
विगतका कमजोरी स्वीकार
झाँक्रीले अघिल्ला राजनीतिक निर्णय र अभिव्यक्तिहरूका बारेमा अप्रत्यक्ष आत्मस्वीकृति पनि जनाइन्। “आज म यहाँ उभिँदा धेरैको मनमा प्रश्न छ - म विगतका कमजोरी कसरी स्वीकार गर्छु? म स्वीकार गर्छु, विगत मिश्रित थियो,” उनले भनिन्।
झाँक्रीसहित एकीकृत समाजवादीमा गएका अनि सोमबार झाँक्रीसहित एमालेमा फर्किएका अर्का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले भने एमाले फुटाउनु जीवनकै ठूलो भूल भएको स्विकारे
“एमालेबाट विद्रोह गर्नु हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल भयो,” श्रेष्ठले भने, “आज हामी हृदयबाट भन्न चाहन्छौँ, यो फर्काइ राजनीतिक निर्णय मात्र होइन, जनताको बिच फर्कने यात्राको सुरुवात हो।”
कात्तिक २४, २०८२ सोमबार १८:५६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।