मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : असन्तुष्ट दलका नेताहरूबाट कुटिए प्रहरी र कर्मचारी, मुख्यमन्त्री कार्यालयमा तोडफोड

मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद : असन्तुष्ट दलका नेताहरूबाट कुटिए प्रहरी र कर्मचारी, मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं : मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रुप लिएको छ। असन्तुष्ट दलका नेता-कार्यकर्ताले सुरक्षाकर्मीमाथि हातपात गर्दै प्रदेश कार्यालयमै पसेर तोडफोड गर्दै कर्मचारीलाई समेत कुटपिट गरेका छन्।

मुख्यमन्त्रीको कार्यकक्षमा भएको घटनाको भिडियोमा अहिले सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। भिडियोमा कर्मचारीमाथि धकेलाधकेल गर्दै कुटिएको देखिन्छ। 

मुख्यमन्त्री नियुक्तिमा विवादपछि असन्तुष्ट दलका नेता कार्यकर्ताले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद र कार्यकर्ताहरूले एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन्।

मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान बिरामी भएको भन्दै जनकपुरबाट काठमाडौंका लागि हिँडेकी थिइन्। तर उनी काठमाडौं नपुगी बर्दिवासको पानस कटेज पुगेर त्यहींबाट एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख भण्डारीले बिहान करिब ४ बजे जनकपुरस्थित निवास छोडेकी थिइन्। कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई भेटेर स्वास्थ्य लाभको शुभकामना दिँदै बिदाइ गरेका थिए। 

तर केही घण्टामै उनले संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरिन्। सोही होटलमा बिहान ५ बजेर २० मिनेटमा यादवले शपथसमेत लिए।

त्यसक्रममा एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अंसारी र राप्रपाकी कंचन बिच्छाले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरे।

प्रदेश प्रमुखलाई कांग्रेस, माओवादी, लोसपा, एकिकृत समाजवादी,जनमत र जसपाले संविधानको धारा १६८ (२) अनुसार संयुक्त सरकार गठनका लागि आह्वान गर्न दबाब दिइरहेका थिए। तर उनले उपचारका लागि काठमाडौं जाने भनिए पनि बर्दिवासमै बसेर सरकार गठन गरिन्।

यस अगाडि जितेन्द्र सोनलले एमाले, कांग्रेसको समर्थन नपाए पनि अन्य दलसँग मिलेर सरकारमा दाबी गरेर मुख्यमन्त्री नियुक्त भएका थिए। तर विश्वासको मत पाउन नसक्ने भएपछि राजिनामा दिएका थिए।

कात्तिक २४, २०८२ सोमबार १३:२८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।