‘पहिले पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
म्याग्दी : ‘पहिले पहाड पनि हिमालै थिए, तर अहिले हिमाल नै पहाड जस्ता भएका छन्,’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीया नरिमाया गर्बुजा गुरुङले विगत सम्झँदै भनिन्।
अन्नपूर्ण हिमालको फेदीमा रहेको पञ्चकुण्ड तालछेउको आफ्नै होटलमा बेमौसमी पाहुनाको पर्खाइमा बसिरहेकी उनी विगत र वर्तमानबीचको ठूलो अन्तर महसुस गर्छिन्।
‘पहिले हिउँले ढाकेका पहाड देख्दा रमाइलो लाग्थ्यो, अब भने हिमालकै रुप फेरिँदै गएको छ,’ उनले चिन्ता व्यक्त गरिन्।पछिल्लो १५ वर्षयता अन्नपूर्ण आधार शिविर पुग्ने आरोही र पर्यटकको सेवामा व्यस्त रहेकी नरिमायाले मौसम परिवर्तनले हिमाली स्वरूप नै बिग्रँदै गएको बताइन्।
जलवायु परिवर्तन, विश्व तापक्रम वृद्धि, प्रदूषण र अव्यवस्थित विकासका कारण हिमालको हिउँ पग्लँदै गएको उनको अनुभव छ। ‘पहिले हिउँ पर्यो भने गाउँले रमाउँथ्यौं, अहिले हिउँ नपर्दा पनि, पर्छ भने असमयमा, दुबै बेला समस्या हुन्छ,’ उनले भनिन्।
हालैको कात्तिक दोस्रो साता भएको असमयको हिमपात र वर्षातले म्याग्दी, मुस्ताङ, मनाङ र कास्कीका पर्यटन क्षेत्र अस्तव्यस्त बने। पर्यटकहरू बीचमै अड्किए र सुरक्षाकर्मीले उद्धार गर्नुपर्यो। खेतमा सुकाउँदै राखिएको धान भिज्दा किसानले ठूलो क्षति बेहोरे।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका ७० वर्षीय पर्यटन व्यवसायी डमबहादुर पुनका अनुसार यस्तो भारी हिमपात कात्तिकमा विरलै हुने घटना हो। ‘पुस-माघमा हिउँ नपरेर चुचुरे बाहेकका पहाड कालो पत्थर बनेका छन्, अब कात्तिक-वैशाखमा असमयमा हिउँ पर्छ,’ पुनले भने, ‘हावापानीको यो अनौठो चक्रले पर्यटनलाई असर पारिरहेको छ।’
त्यही असरका कारण वसन्त याममा पुनहिल पुग्ने पर्यटकले तुँवालोले ढाकिएको हिमाल नदेखेर खिन्न हुँदै फर्कनुपरेको पुन बताउँछन्।
नुवाकोटका विद्युत् नेपाल हालै अन्नपूर्ण आधार शिविर पुगेका थिए। फर्किएपछि उनले चिन्ता व्यक्त गरे, ‘हिउँ घट्दै गएर हिमाल कालो हुँदै गएको देख्दा मन डरायो। हाम्रो देशको चिनारी नै हराउने हो कि भन्ने लाग्यो।’ उनका अनुसार हिमाल पग्लँदा नदी र तटीय क्षेत्र जोखिममा छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनले हिन्दूकुश–हिमालय क्षेत्रमा यो शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्दा पनि ३६ प्रतिशत हिउँ भण्डार हराउने देखाएको छ।
सन् २०१५ को पेरिस सम्झौताअनुसार विश्व तापक्रमलाई १.५ देखि २ डिग्री सेल्सियसभित्र सीमित राख्ने सहमति गरिएको थियो। तापक्रम वृद्धि मुख्यतः हरितगृह ग्यासको उत्सर्जनका कारण भएको अध्ययनहरूले पुष्टि गरेका छन्।
नेपालले नगरेको गल्तीको मूल्य अहिले भोगिरहेको छ। यही सन्दर्भमा सोमबारदेखि ब्राजिलको बेलेम सहरमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) मा नेपालले हिमाली क्षेत्रमा देखिएका असर, क्षतिपूर्ति र अनुकूलनका मुद्दा जोडदार रूपमा उठाउनुपर्ने सरोकारवालाहरूको सुझाव छ।
कात्तिक २४, २०८२ सोमबार १२:४६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।