एनपीएलका लागि विराटनगर किंग्सको नयाँ जर्सी सार्वजनिक
बिराटनगर : विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनको तयारीलाई संकेत गर्दै आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। नयाँ जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र समुदायको भावना झल्काएको बताइएको छ।
क्लबका अनुसार यो जर्सीका प्रत्येक विवरणमा विश्वास, संस्कार र विराटनगरको अविचलित भावना झल्किएको छ। डिजाइनको केन्द्रमा सप्तकोशी नदीको प्रवाहलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरिएको छ। जर्सीमा रहेका सात रेखाहरू सप्तकोशी बन्ने सातवटा शाखा नदीहरूको प्रतीक हुन्, जसले एकता, शक्ति र गतिशीलता जनाउँछन्।
क्लबले भनेको छ, “प्रत्येक नदीको आफ्नै ऊर्जा हुन्छ, तर सबै नदीहरू मिलेर एक अजेय शक्ति बन्छन् - ठीक त्यस्तै हाम्रो खेल पनि हो। सात नदी, एउटै लय, एकै धड्कन।”
जर्सीमा समावेश त्रिकोणीय पहाडी पाटर्न साहस, धैर्य र दृढताको प्रतीकका रूपमा राखिएको छ। यसले खेल जीवनमा उतार–चढाव, चुनौती र सफलता प्रतीकात्मक रूपमा जनाउँछ। क्लबका अनुसार, “सफलता पहाड चढेजस्तै हुन्छ - सिधा रेखामा होइन, संघर्ष र लगनशीलताबाट। शक्ति निरन्तर प्रयासबाट आउँछ, र अन्ततः जित उनीहरूकै हुन्छ, जो कहिल्यै रोकिँदैनन्।”
जर्सीको काँधमा रहेको ‘एपाउलेट’ नेतृत्व र गर्वको संकेतका रूपमा डिजाइन गरिएको छ। यो आदेश होइन, प्रेरणाको प्रतीक हो। क्लबका अनुसार, “यो जर्सी लगाउने प्रत्येक खेलाडीले आफ्नो शहरको सपना र नेतृत्वको जिम्मेवारी बोकेको हुन्छ। विराटनगर किंग्स केवल खेल्दैन, बरु जुनसुकै चुनौती आए पनि साहस, दृढता र विश्वासको प्रतिनिधित्व गर्छ।”
कात्तिक २३, २०८२ आइतबार १३:१८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।