सिटीटेकको ‘फिनपस मिनी’सार्वजनिक
काठमाडौं : सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘NAS-IT एक्स्पो २०२५’ को अवसरमा नेपालकै सबैभन्दा प्रतीक्षित डिजिटल भुक्तानी उपकरण फिनपस मिनी औपचारिक रूपमा सार्वजनिक गरेको छ।
फिनपस मिनीलाई सिटीटेकले एक क्रान्तिकारी डिजिटल भुक्तानी साधनका रूपमा प्रस्तुत गरेको छ, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सहजता प्रदान गर्छ। यो उपकरणले Visa, Mastercard, UPI र NepalPay कार्ड योजनाहरूका साथै NepalPay QR, Fonepay र SmartQR जस्ता क्युआर योजनाहरूलाई समेत समर्थन गर्दछ।
सानो आकार, आकर्षक डिजाइन र प्रयोगमैत्री स्वरूपको यो उपकरणले ग्राहक तथा व्यवसायी दुबैका लागि छिटो, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ। यसको पोर्टेबल स्वरूपका कारण यो डेलिभरी सेवा, यातायात व्यवसायी, साना तथा ठूला सबै प्रकारका व्यवसायीहरूका लागि उपयुक्त बनेको कम्पनीले जनाएको छ।
कार्यक्रमको क्रममा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकले सिटीटेकसँग हस्ताक्षर गरी फिनपस मिनीलाई आफ्ना भुक्तानी प्रणालीमा समावेश गर्ने इच्छा व्यक्त गरे।
सिटीटेकको लोकप्रिय ब्रान्ड ‘फिनपस’ हाल नेपालभरका १२ वटा बैंकहरूमा सेवा प्रदान गर्दै १० हजारभन्दा बढी व्यवसायीहरूलाई सेवा दिइरहेको छ। कम्पनीका अनुसार फिनपस मिनीको शुभारम्भसँगै बैंकहरूका लागि प्रतिस्पर्धी मूल्यमा एकीकृत र किफायती ‘अक्वायरिङ’ समाधान प्रदान गर्ने नयाँ अध्याय सुरु भएको छ।
सिटीटेकका प्रमुख कार्यकारी अधिकृत सजन शर्माले भने, “फिनपस मिनी केवल एउटा उत्पादन होइन, यो नेपालमा डिजिटल भुक्तानीलाई सबैको पहुँचमा पुर्याउने हाम्रो प्रतिबद्धताको प्रतीक हो। हामी देशका हरेक कुनामा रहेका व्यापारीहरूलाई सहज, सुरक्षित र सस्तो प्रविधिबाट डिजिटल भुक्तानीको अवसर दिन चाहन्छौं,”
उनले थपे, फिनपस मिनीले डिजिटल नेपाल निर्माणको यात्रामा ठोस योगदान दिने विश्वास आफूहरूले लिएको छ।
कात्तिक २३, २०८२ आइतबार ११:४२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।