रास्वपाको महाधिवेशन सर्‍यो, वैकल्पिक राजनीतिक शक्तिका लागि समान विचारका दलसँग सहकार्य गर्न तयार

रास्वपाको महाधिवेशन सर्‍यो, वैकल्पिक राजनीतिक शक्तिका लागि समान विचारका दलसँग सहकार्य गर्न तयार
Filephoto

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भयो। बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वतयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गर्यो।

बैठकले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ। साथै, घोषित निर्वाचनको परिणाम देश र जनताको हितमा रहोस् र पार्टीको पक्षमा जनमत निर्माण होस् भन्ने उद्देश्यले सम्पूर्ण संरचना, सदस्य र शुभेच्छुकहरूलाई जुट्न आग्रह गरिएको छ।

रास्वपाका प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले अघि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारप्रति जनविश्वास पैदा होस् भन्ने उद्देश्यले प्रभावकारी योजना निर्माण र परिचालनमा पार्टीका संरचना र पङ्क्तिलाई केन्द्रित हुन विशेष अनुरोध गर्दछौँ।’

बैठकले हालै भएको जेनजी प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। साथै, राज्यका निकायहरूमा जेनजी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि आग्रह गरेको छ।

विज्ञप्तिमा रास्वपाको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ र समावेशी बनाउन, रुपान्तरणका पक्षमा आएका आवाज र प्रस्तावहरूलाई विधि–प्रक्रियाअन्तर्गत सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरण क्रमशः फराकिलो बनाउने निर्णय गरिएको उल्लेख छ।

बैठकले बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। त्यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गरिएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै, छ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले निर्देशन दिएको छ।

बैठकमा देशको पछिल्लो समग्र अवस्था, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक स्थिति तथा तत्कालीन कार्यभारबारे व्यापक छलफल गरिएको थियो।

विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोटको रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनहरूमा समूहगत छलफल भएको विज्ञप्तिमा जनाइएको छ।

बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, संगठन विभागका सचिव शङ्कर श्रेष्ठ, साथै चितवन, झापा र रुपन्देही जिल्ला समितिले लिखित सुझावहरू पेश गरेका थिए। कुल ५१२ जना आमन्त्रित प्रतिनिधिहरू सहभागी रहेका यस विस्तारित बैठकमा पार्टीको आगामी राजनीतिक दिशाबारे पनि गहन बहस भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कात्तिक २३, २०८२ आइतबार ११:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।