रहबरले आफैँलाई कालोमोसो दलेर ढालिदिए सोनलको सरकार
जनकपुरधाम : माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहबर अन्सारीको विद्रोहले मधेस प्रदेशमा जसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा बनेको सरकार २५ दिनमै ढल्यो। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नबाट रोक्न माओवादी केन्द्रसहितका साना दलहरू एकै ठाउँ उभिएर सोनलको नेतृत्वमा सरकार गठनको प्रयास गरेका थिए।
सोनल मुख्यमन्त्री त भए तर सरकारले पूर्णाकार पाउनु अगाडि नै विश्वासको मत लिने दिन संसदमा राजीनामाको घोषणा गर्न बाध्य भए।
रहबरले प्रदेशमा नेतृत्व गर्ने दल माओवादी केन्द्रले सोनललाई विश्वासको मत दिने घोषणा गरे पनि रहबर विपक्षमा उभिए। मधेस प्रदेशसभाको रोस्टममा बोल्दाबोल्दै आक्रोशमा आएका उनले आफ्नै मुखमा कालोमोसो दलेर सरकारको औचित्य र नैतिक धरातल सकिएको घोषणा गरेपछि सोनलले विश्वासको मत पाउने अवस्था समाप्त भयो। त्यसपछि उनी रोस्टममा समेत नगई तलबाटै माइक मगाएर बोल्दै राजीनामा दिने घोषणा गरे। घोषणासँगै उनी प्रदेश प्रमुखकोमा गएर राजीनामा पत्र बुझाए। उनको राजीनामा तत्काल स्वीकृत भयो।
रहबरको विद्रोही स्वरूप
विश्वासका मतका लागि शनिवार मधेस प्रदेशको संसद् बसेको थियो। संसदमा विभिन्न दलका सांसदहरूले सभामुखसँग समय मागेर बोलिरहेका थिए। सोनलको विपक्षमा कांग्रेस र एमाले मात्र थियो। बाँकी दलले उनलाई समर्थन गरेका थिए।
माओवादी केन्द्र समेत सोनलको पक्षमा थियो। सोही दलका सांसद रहबरले सभामुख रामचन्द्र मण्डलसँग समय माग्दै रोस्टममा गए। समर्थन गरेको दलको सांसद भए पनि उनले “अब यो सरकारको कुनै नैतिक आधार छैन” भनेर विपक्षमा बोले। त्यो बेलामा सोनल बहुमत जुटाउन दलहरूसँग छलफलमा थिए।
उनका लागि एक मतको पनि अर्थ थियो। तर रहबरले “मधेस प्रदेशसभामा रहेका १०७ जना सांसदमध्ये कोहीसँग पनि जनताको मर्म अनुसार सरकार चलाउने हैसियत छैन” भन्दै पार्टीको निर्णयको विपक्षमा विद्रोह गरे। उनी बोलिरहेको बेलामा सभामुखले उनको माइक काटिदिए। अनि उनले रोस्टममै आफैँसँग ल्याएको कालोमोसो निकालेर मुखमा दल्दै भने “मलाई अब कुनै पनि सरकारले मधेसको विकास गर्छ भन्ने विश्वास छैन।”
उनले एकपछि अर्को दलले सिद्धान्त, विचार र राजनीतिक चरित्रको सामान्य नियमसम्म पालना नगरी गठबन्धन गरेको भन्दै उनले अब मौन नबस्ने भन्दै पार्टीले पक्षमा मत दिन ह्विप लगाए पनि पक्षमा मत नदिने घोषणा गरे।
“आज ऐतिहासिक दिन हो। हामी हाम्रो सबैको सामूहिक अपराध स्वीकार गर्न यहाँ आएका छौँ।
आठ वर्ष भयो संघीयता कार्यान्वयन भएको। तर मधेस अझै उपेक्षित छ,” उनले भने “माता जानकीको चरणको धुलो एक कण बराबरको हाम्रो हैसियत छैन, तर ६० लाख जनताको अवस्था के छ भन्नेमा हामीलाई मतलब छैन।”
उनले मधेसमा आफ्नै दलसहितको सरकार बन्दा मन्त्रीसमेत भएको तर आफ्नै सरकारको बेतिथिबारे बोल्दा पनि सुनुवाइ नभएको भन्दै अब आफू विरोधको प्रतीक बन्न चाहेको बताए। त्यो बेलामा संसदमा कांग्रेस र एमालेका सांसदहरू थिए। अन्य दलका सांसदहरू सरकारलाई कसरी विश्वासको मत दिलाउने भन्ने छलफलमा थिए। तर यता विद्रोह भइसकेको थियो।
माओवादीभित्रकै असन्तुष्टि, कर्ण पनि विद्रोही
रहबरकै विद्रोहले सोनलको नेतृत्वको सरकारले विश्वासको मत नपाउने पक्का भइसकेको थियो। त्यसैमा मिसिइन माओवादी केन्द्रकी प्रदेशसभा सदस्य माला कर्ण। उनले पनि सोनललाई विश्वासको मत नदिने घोषणा गरिन्।
उनले भनिन् “प्रदेश सरकार केन्द्रको नियन्त्रणमा छ। म केन्द्रको निर्देशन अनुसार अब अघि बढ्न सक्दिन।”
पछि कर्ण विश्वासको मत दिन राजी त भइन् र रहबर राजी भएनन्। त्यसमा जनमत पार्टीका दुई सांसद संसद् बैठकमै आइदिएनन्। विश्वासको मत नपाउने पक्का भएपछि उनले संसद् बैठकमा राजीनामा दिने घोषणा गरे र राजीनामा पनि दिए।
राजीनामा घोषणासँगै सोनलको आक्रोश
मुख्यमन्त्री सोनल विश्वासको मत लिन छलफल लम्ब्याइरहे। अन्तमा सभामुखले संसद् बैठक राखेर मत विभाजनको तयारी गरे। उनले घण्टी बजाइसकेपछि मात्र सोनल संसद् बैठकमा पुगेका थिए। सभामुखले घण्टी बजाएर मत विभाजनको प्रक्रिया सुरु गरेपछि पनि उनी सहमतिका लागि छलफल गर्न समय मागिरहेका थिए। तर घण्टी बजिसकेकाले अब लम्ब्याउन नसकिने जवाफपछि उनी बोल्न खोजे।
उनलाई रोस्टममा नबोलाई सभामुखले तलैबाट बोल्न माइक दिए। सोनल निकै हडबडाएका थिए। नर्भस देखिएका मुख्यमन्त्री सोनलले माइक समात्दै सहमति जुटाउन छलफलका लागि समय दिएकोमा सभामुखलाई धन्यवाद दिँदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरे। मुख्यमन्त्रीले राजीनामा दिने घोषणा गरेकाले अब विश्वासको मत लिनुको औचित्य नभएको भन्दै सभामुखले संसद् बैठक स्थगित गरे।
टिपनटापन गरेर मुख्यमन्त्री बने पनि विश्वासको मतको संख्या जुटाउन नसकेर राजीनामाको घोषणा गरेर बाहिरिएका सोनलले सोनलले पत्रकारहरूसँग भने संघीयता र प्रदेश संरचनाको अस्तित्व समाप्त पार्ने प्रयास भएकाले राजीनामा दिएको तर पून मुख्यमन्त्री बन्ने वातावरण बनाएर फर्किने दाबी गरे।
कात्तिक २२, २०८२ शनिबार २२:०१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।