दक्षिण अफ्रिकामा हुने जी-२० शिखर सम्मेलनमा अमेरिकी अधिकारी नपठाउने ट्रम्पको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने आगामी जी-२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी सहभागी नहुने घोषणा गरेका छन्।
ट्रम्पले दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनाबद्ध रूपमा ‘हत्या’ गरिएको आरोप लगाउँदै, “मानवअधिकार उल्लङ्घन जारी रहेसम्म अमेरिकी सरकारी अधिकारीले सहभागी नहुने” बताएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लेख्दै भनेका छन्, “जी–२० दक्षिण अफ्रिकामा आयोजना हुनु पूर्ण रूपमा लज्जाजनक विषय हो।”
उनले दाबी गरे, “दक्षिण अफ्रिकामा युरोपबाट आप्रवासन गरी बसोबास गर्ने श्वेत अफ्रिकीहरूको हत्या गरिएको छ, र उनीहरूको जग्गा र खेत अवैध रूपमा कब्जा गरिएको छ।”
यसअघि ट्रम्पले सेप्टेम्बरमा उपराष्ट्रपति जेडी भान्सलाई आफ्नो प्रतिनिधिको रूपमा पठाउने बताएका थिए, तर पछिल्लो निर्णय अनुसार अमेरिकी प्रतिनिधिमण्डल नै नपठाइने घोषणा गरिएको हो।
दक्षिण अफ्रिकी विदेश मन्त्रालयले ट्रम्पको टिप्पणीलाई ‘खेदजनक र निराधार’ भन्दै आरोप अस्वीकार गरेको छ। मन्त्रालयले नोभेम्बर २२–२३ मा तय गरिएको शिखर सम्मेलनलाई “सफलतापूर्वक आयोजना गरिने” बताउँदै, जी–२० अध्यक्षताको विषयवस्तु ‘एकता, समानता र दिगोपन’ रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा भनिएको छ, “दक्षिण अफ्रिकालाई गोरा समुदायको मात्र देशको रूपमा चित्रण गर्नु ऐतिहासिक गलत धारणा हो। यो समुदायमाथि योजनाबद्ध हिंसाको कुनै प्रमाण छैन।”
प्रिटोरियाले आफ्नो ध्यान सकारात्मक विश्वव्यापी योगदानमा केन्द्रित भएको र जातीय विभाजनबाट लोकतन्त्रसम्मको यात्राले जी–२० मा वास्तविक एकताको भविष्यको दिशा देखाउने विश्वास व्यक्त गरेको छ।
ट्रम्पले जनवरीमा पुनः ह्वाइट हाउस फर्किएपछि दक्षिण अफ्रिकालाई धेरै मुद्दामा आलोचना गर्दै आएका छन्। उहाँले यसअघि दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसामाथि “रङ्गभेदपछि गोरा किसानहरूविरुद्ध अभियान सञ्चालन गरेको” आरोप लगाएका थिए।
दक्षिण अफ्रिकी सरकारले यस्ता आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै कुनै पनि समुदायमाथि विभेदकारी नीति नअपनाएको बताएको छ।
यसैबीच, ट्रम्प प्रशासनले गत हप्तामात्र शरणार्थी स्वीकृति सङ्ख्या घटाएर ७,५०० मा सीमित गर्ने र गोरा दक्षिण अफ्रिकीहरूलाई प्राथमिकता दिने नीति घोषणा गरेको थियो।
दुवै देशबीच पछिल्ला महिनामा गाजा नरसंहार मुद्दा लगायत अन्तर्राष्ट्रिय न्यायालयमा पनि मतभेद तीव्र भएको छ।
यसबाहेक, ट्रम्पले दक्षिण अफ्रिकाबाट आयात हुने सामानमा ३० प्रतिशत कर लगाउने निर्णय गर्नुभएको छ, जसले दक्षिण अफ्रिकालाई उप–सहारा अफ्रिकाभित्र सबैभन्दा उच्च कर भुक्तान गर्ने देश बनाएको छ।
ट्रम्पले सन् २०२६ को जी–२० शिखर सम्मेलन अमेरिकाको फ्लोरिडास्थित आफ्नै मियामी गल्फ रिसोर्टमा आयोजना गर्ने घोषणा पनि गरिसकेका छन्।
कात्तिक २२, २०८२ शनिबार २०:४३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।