अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सचेतनामा जेनजी पुस्ताको ध्यान आवश्यक : विज्ञहरू

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सचेतनामा जेनजी पुस्ताको ध्यान आवश्यक : विज्ञहरू

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै सामाजिक संस्कारमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग र अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘जेनजी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा उनले पछिल्लो पुस्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र परराष्ट्र नीतिको महत्त्वबारे सचेत बनाउनुपर्नेमा जोड दिए।

डा. केसीले भने, “राजनीतिक दल र नेताहरूको अपारदर्शी व्यवहारप्रति आक्रोशित युवाबाट जेनजी आन्दोलन जन्मिएको हो। तर अब उनीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रको कूटनीतिक भूमिकाबारे बुझ्न जरुरी छ। यसबारे बुझाउनु हाम्रो साझा जिम्मेवारी हो।”

कार्यक्रममा प्राध्यापक डा. युवराज सङ्ग्रौला र काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा. चन्द्रलाल पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए।

डा. सङ्ग्रौलाले जेनजी पुस्ताले खोजेको रूपान्तरणलाई उपेक्षा गर्न नहुने भन्दै अबको शासन प्रणाली जनमुखी र पारदर्शी हुनुपर्नेमा जोड दिए।

डा. पाण्डेले भने जेनजी आन्दोलन समग्र समाजमा जम्मिएको असन्तुष्टिको परिणाम भएको बताउँदै, अन्तर्राष्ट्रिय स्तरमा नेपालको अस्तित्व मजबुत बनाउन कूटनीतिक सक्रियता आवश्यक रहेको धारणा राखे। 

कार्यपत्रमाथि पूर्वमन्त्री गणेश साह र पूर्वराजदूत खगनाथ अधिकारीले टिप्पणी गर्दै नेपालले युवाको दृष्टिकोण र अन्तर्राष्ट्रिय सन्दर्भबीच सन्तुलन कायम गर्नुपर्ने सुझाव दिए। 

त्यस्तै, डा. हरिप्रकाश चन्दले अन्तर्राष्ट्रिय सम्बन्धको इतिहास, वर्तमान र भविष्यबारे चर्चा गर्दै विगतका सरकारले परराष्ट्र नीतिलाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गरे। 

उनले आगामी दिनमा कूटनीतिक विज्ञहरूसँग सहकार्य र गहिरो वैचारिक छलफल आवश्यक रहेको बताए।

कार्यक्रममा पीएचडी शोधार्थी प्रशान्तकुमार विकले पछिल्ला वर्षहरूमा युवा पुस्ताले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा बढ्दो चासो देखाएको उल्लेख गर्दै, यसले नेपाललाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागकी प्रमुख अपेक्षा शाहलगायत विद्यार्थी र अनुसन्धानकर्ता उपस्थित थिए।

कात्तिक २२, २०८२ शनिबार २०:२३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।