अढाई घण्टासम्म पनि बन्न सकेन विमानस्थलको ‘एयर फिल्ड लाइटिङ’ प्रणाली, आकाशमा जहाज घुमेको घुम्यै
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण प्रभावित भएको छ।
विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही जहाज आकाशमा ‘होल्ड’मा छन् भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र पठाइएको छ।
उनले आन्तरिक उडानका जहाजलाई विमानस्थलमा रोकिएको जनाउँदै अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा होल्ड गरिएको बताए। अहिले दोहाबाट काठमाडौंका लागि आएको कतार एयरलाइन्सको जहाज साथै दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको जहाज आकाशमै होल्ड भएका छन्।
आन्तरिक उडानबाट काठमाडौं आउने जहाज भने सम्बन्धित गन्तव्यमा नै रोकिएको प्रवक्ता शेर्पाले उल्लेख गरे।
रातिको समयमा विमानस्थलको धावनमार्गमा जहाज उडान तथा अवतरणका लागि उज्यालो बनाउने बत्तीलाई ‘एयर फिल्ड लाइटिङ’ भनिन्छ। उक्त लाइटिङमा देखिएको समस्या समाधानको प्रयास भइरहेकाले शीघ्र नियमित उडान हुने उनले जानकारी दिए।
कात्तिक २२, २०८२ शनिबार २०:०१:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।