बागलुङमा पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो
ढोरपाटन : बागलुङको ढोरपाटनमा शुक्रबार राति पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृतक र घाइते दुवैको पहिचान खुलेको छ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका अनुसार दुर्घटनामा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको हो।
बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप राति करिब १० बजे ढोरपाटन नगरपालिका-८ र ९ को सिमाना च्वावीरस्थित सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको थियो।
दुर्घटनामा चालक ढोरपाटन-९ का २७ वर्षीय दिलबहादुर विक र सोही गाडीमा सवार वडा नं. ७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन्।
प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार घाइते चालक विकको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ भने अदै सामान्य उपचारपछि घर फर्किएका छन्।
प्रहरी निरीक्षक मानन्धरले भन्नुभयो, ‘दुर्घटनाको खबर पाउनासाथ हामी उद्धारमा खटिएका थियौँ। उद्धार समयमै भए पनि एक जनालाई बचाउन सकिएन। घाइते चालकको अवस्था सामान्य छ।’
कात्तिक २२, २०८२ शनिबार १३:२३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।