डा. रणबहादुर बोगटीको उपचार अनुभव : काठको सुइरोले अनुहार छेडेर चिउँडोबाट निस्किएको त्यो विभत्स दृश्य

डा. रणबहादुर बोगटीको उपचार अनुभव : काठको सुइरोले अनुहार छेडेर चिउँडोबाट निस्किएको त्यो विभत्स दृश्य

डा. रणबहादुर बोगटी जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम) विशेषज्ञ हुन्।

दुर्गमभन्दा दुर्गम क्षेत्रमा बसेर गाउँघरका बिरामीको उपचार गरिरहेका उनी आज पनि त्यही सेवामा तल्लीन छन्। उनै डा. रणबहादुरले आफ्नो चिकित्सकीय पेशाका क्रममा देखे-भोगेका केही अविस्मरणीय अनुभवहरू उकेरासँग साटेका छन्।

आङ जिरिङ्ग बनाउने त्यो घटना
रोल्पा प्रादेशिक अस्पतालमा कार्यरत रहँदा एक जना पुरुषको अनुहारमा रोपिएको काठको सुइरो निकालेको घटना डा. रणबहादुरको मानसपटलमा आज पनि ताजै छ।

केही वर्षअघिको कुरा हो, करिब ५७ वर्षका एक पुरुषलाई गम्भीर अवस्थामा रोल्पा अस्पताल ल्याइयो। श्रीमतीको मृत्युपछि दिदीको संरक्षणमा बस्दै आएका उनको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो।

कुन परिस्थितिमा हो, ती पुरुषको देब्रे आँखाको डिलमुनिबाट छिरेको काठको मोटो सुइरो गाला हुँदै चिउँडोका तीन ठाउँबाट बाहिर निस्किएको थियो। एक ठाउँबाट छिरेको सुइरोले चिउँडोमा तीनवटा प्वाल पारेको त्यो दृश्य हेर्दैमा विभत्स थियो। रक्ताम्मे अवस्थामा उनलाई अस्पताल पुर्याइएको थियो।

पुरुषको अवस्था देखेर चिकित्सकको टोली नै एकछिन आत्तियो। अस्पतालको आकस्मिक कक्षमा उनलाई हेर्ने मानिशहरूको भीड लागेको थियो। तिहारको समय भएकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या पनि कम थियो।

ती पुरुषको अनुहारबाट तुरुन्तै शल्यक्रिया गरेर सुइरो निकाल्नुपर्ने थियो, तर अस्पतालमा स्रोतसाधन सीमित थिए। अन्यत्र पठाउन घाइतेकी दिदीसँग पैसा थिएन। उपचारका क्रममा आईसीयू तथा भेन्टिलेटरको आवश्यकता पर्न सक्थ्यो, तर ती सुविधा उपलब्ध थिएनन्।

त्यसैले, डा. रणबहादुरको टोलीले जोखिम मोलेरै त्यहीँ शल्यक्रिया गर्ने निर्णय लियो। बिरामीलाई लठ्याएर शल्यक्रिया सुरु गरियो। करिब अढाई घण्टाको अथक प्रयासपछि डा. बोगटीको टोली उनको अनुहारमा गाडिएको काठको सुइरो निकाल्न सफल भयो। उनले घाउमा निकै मेहनत गरेर सिलाइदिए।

शल्यक्रिया सफल भएपछि बल्ल डा. रणबहादुरले शान्तिको सास फेरे। मृत्युको मुखमा पुगेका ती पुरुषको ज्यान जोगिएको थियो। करिब एक हप्ताको अस्पताल बसाइपछि उनी निको भएर घर फर्किए। जोखिम मोलेर गरिएको त्यो शल्यक्रिया सम्झँदा आज पनि डा. रणबहादुरको आङ जिरिङ्ग हुन्छ।

शल्यक्रियाबिनै साढे चार किलोको बच्चा जन्मँदा...
मुगु जिल्ला अस्पतालमा काम गर्दाको एउटा घटना पनि डा. रणबहादुर कहिल्यै भुल्दैनन्। यो करिब दश वर्षअघिको कुरा हो, जतिबेला उनी एमबीबीएस सकेर छात्रवृत्ति करारमा कर्णालीको मुगु पुगेका थिए।

एक दिन प्रसव पीडाले छटपटाइरहेकी करिब ३५ वर्षीया महिलालाई स्ट्रेचरमा बोकेर अस्पताल ल्याइयो। डा. बोगटीको टोलीले जाँच गर्दा ती महिलाको तुरुन्तै शल्यक्रिया (सिजरियन सेक्सन) गर्नुपर्ने देखियो। तर, मुगु अस्पतालमा शल्यक्रियाका लागि आवश्यक स्रोतसाधन थिएन। त्यसमाथि एमबीबीएस चिकित्सक भएकाले उनलाई शल्यक्रिया गर्ने सीप पनि थिएन।

हिउँदको मौसम थियो, बाक्लो हिमपातले सडक र विमानस्थल दुवै अवरुद्ध थिए। त्यसैले बिरामीलाई अन्यत्र पठाउन सक्ने अवस्था थिएन। अब मुगुमै ती महिलाको सुत्केरी गराउनुको विकल्प रहेन। चिकित्सकको टोलीलाई आमा र बच्चा दुवैको ज्यान कसरी जोगाउने भन्ने ठूलो तनाव थियो।

तर, उनीहरूले हरेस खाएनन्। शल्यक्रिया नगरी औषधि र अन्य चिकित्सकीय विधि अपनाएरै सुत्केरी गराउने प्रयास गरियो। अन्ततः, चिकित्सकहरूको अथक मेहनत सफल भयो र ती महिलाले सकुशल बच्चा जन्माइन्।

ती महिलाले साढे चार किलोभन्दा बढी तौलको बच्चा जन्माएकी थिइन्। बच्चा ठूलो भएकैले उनलाई व्यथा लम्बिएको रहेछ। शल्यक्रियाबिनै (नर्मल डेलिभरी) यति ठूलो बच्चा जन्मँदा आमाको खुसीको सीमा रहेन, चिकित्सकको टोली पनि दंग पर्यो।

त्यो घटनापछि उनले दुर्गममा काम गर्दा सिजरियन सेक्सनजस्ता शल्यक्रियाको सीप अत्यावश्यक पर्ने रहेछ भन्ने महसुस गरे। यही सीपले दुर्गमका कयौँ आमा र बच्चाको ज्यान बचाउन सकिन्छ भन्ने ठानेर उनले पछि यो सीप पनि सिके।

छालाले मात्रै अडिएको चोर औँला
रोल्पामा एक जना घाइते पुरुषको औँला बचाएको प्रसङ्ग पनि डा. रणबहादुर कहिल्यै भुल्दैनन्।

केही वर्षअघि फर्निचरमा काम गर्ने करिब ३८ वर्षीय पुरुषलाई अस्पताल ल्याइयो। काठ काट्ने क्रममा उनको दाहिने हातको चोर औँला काटिएको थियो। हतियारले काटेर झन्डै छिनालिएको औँला छालाको त्यान्द्रोले मात्रै अडिएको थियो। त्यो औँला काटेरै फाल्नुपर्ने अवस्था थियो, तर डा. रणबहादुले झिनो आशाका साथ औँला जोड्ने प्रयास गरे।

उनले शल्यक्रिया गरी रड राखेर औँला जोडे र टाँका लगाइदिए। आवश्यक औषधि उपचारपछि केही दिनमा त्यो औँला सफलतापूर्वक जोडियो र बच्यो। ती पुरुष अहिले पनि बेलाबेलामा डा. बोगटीलाई फोन गरेर हालखबर सोध्छन् र कृतज्ञता व्यक्त गर्छन्, जुन सुन्दा उनलाई औधी आनन्द लाग्छ।

शल्यक्रिया विना नै पाँचौँ सन्तानका रूपमा छोरा जन्माउँदाको त्यो जोखिम
रोल्पामै पाँचौँ सन्तान जन्माउन लागेकी एक ३५ वर्षीया गर्भवतीको सफल उपचार गरेको क्षण पनि डा. रणबहादुरका लागि अविस्मरणीय छ। ती महिलाका चार जना छोरी थिए र छोराको आशामा उनी पाँचौँ पटक गर्भवती भएकी रहिछन्।

यसअघि चौथो सन्तान जन्माउँदा पनि उनको शल्यक्रिया गरिएको थियो। डा. रणबहादुरको टोलीले पाँचौँ पटक पनि शल्यक्रिया गरेरै बच्चा निकाल्यो। गर्भमा उनले चाहेजस्तै छोरा नै रहेछ। तर, शल्यक्रिया सकिन लाग्दा एक्कासी रक्तश्राव सुरु भयो। ती महिलालाई मुटुको समस्या पनि थियो, जसले गर्दा उनको मुटुको चालमा गडबडी देखियो र स्वास्थ्य जोखिममा पर्यो।

चिकित्सकको टोलीले निकै मेहनत गरेपछि रक्तश्राव रोकियो र मुटुको धड्कन पनि सामान्य अवस्थामा आयो।

राति दश बजे शल्यक्रिया कक्षमा छिरेको टोली बिहान चार बजे मात्र बाहिर निस्कियो। त्यो रातको ६ घण्टा लामो संघर्षपछि चिकित्सकहरू आमा र बच्चा दुवैलाई बचाउन सफल भए। केही दिनको अस्पताल बसाइपछि ती महिला नवजात छोरा च्यापेर खुसी हुँदै घर फर्किइन्।

मुगुको दुर्गमबाट सुरु भएको डाक्टरी यात्रा
अछामको तत्कालीन बस्ती गाविसमा जन्मिएका रणबहादुरको परिवार पछि नेपालगञ्ज बसाइँ सर्यो। उनले नेपालगञ्जकै जय बागेश्वरी इंग्लिस बोर्डिङ स्कुलबाट २०५७ सालमा एसएलसी उत्तीर्ण गरे।

भारतको हैदराबादबाट प्लस टु सकेपछि डाक्टर बन्ने सपना बोकेर उनले एमबीबीएसको प्रवेश परीक्षा दिए र छात्रवृत्तिमै नाम निकाले।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसबाट सन् २०१३ मा एमबीबीएस पूरा गरेपछि सरकारी छात्रवृत्ति करारअनुसार उनले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने भयो।

उनको छनोटमा कर्णालीको मुगु जिल्ला अस्पताल पर्यो। सुगममा हुर्केका उनलाई सुरुमा त दुर्गममा जान झिझो नलागेको होइन, तर परिवारको हौसलाले उनी मुगु पुगे।

त्यहाँ पुगेपछि उनी दुर्गमका बिरामीको सेवामा रमाउन थाले। रोग पालेर बसेका बिरामीलाई निको पारेर पठाउँदा उनीहरूले व्यक्त गर्ने कृतज्ञताले उनलाई भावुक बनाउँथ्यो।

मुगुमा डाक्टरको ठूलो सम्मान थियो। स्थानीयको त्यही स्नेहले गर्दा दुई वर्षे करार अवधि सकिँदा उनलाई मुगु छोड्न मन थिएन।

त्यहाँबाट बिदा हुँदा धेरै स्थानीयका आँखा रसाएका थिए। त्यही क्षण उनले सोचे, ‘शहरमा बिरामीले सजिलै डाक्टर भेट्छन्, तर यहाँ सयौँ बिरामीका लागि एक जना डाक्टर छ।’ यही अनुभूतिले उनलाई दुर्गममै सेवा गर्ने प्रेरणा दियो।

मुगुको स्नेहले डोर्याएको बाटो
मुगुबाट फर्किंदा नै उनले दुर्गममै बसेर बिरामीको उपचार गर्ने अठोट लिए। त्यसैले उनले सन् २०१६ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीईएम)’ मा स्नातकोत्तर तहको अध्ययन थाले।

यो विषयले बिरामीको आकस्मिक तथा प्राथमिक उपचार, शल्यक्रिया र समग्र उपचारमा जोड दिन्छ, जुन दुर्गमका लागि अति उपयोगी हुन्छ।

सन् २०१९ मा एमडीजीपीईएम पूरा गरेपछि उनी पुनः छात्रवृत्ति करारमा सुर्खेतको मेहलकुना अस्पताल पुगे। त्यहाँ दुई वर्ष काम गरेपछि पनि उनलाई शहर फर्कन मन लागेन। त्यसपछि उनी निक साइमन्स इन्स्टिच्युटमार्फत २०७८ मा रोल्पा प्रादेशिक अस्पताल पुगे र करिब तीन वर्ष सेवा गरे।

एक वर्षअघि सोही इन्स्टिच्युटबाट सरुवा भएर हाल उनी दाङको भालुवाङस्थित प्रादेशिक अस्पतालमा कार्यरत छन्।

दुर्गमका बिरामीको स्वास्थ्यमा सहज पहुँच पुर्याउन आफूजस्ता चिकित्सक उत्पादन बढाएर सरकारले गाउँ-गाउँमा खटाउनुपर्ने डा. रणबहादुरको सुझाव छ।

कात्तिक २२, २०८२ शनिबार १३:०४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।