हङकङ सिक्समा नेपालको सानदार प्रदर्शन, भारत ९२ रनले पराजित
एजेन्सी : हङकङको मङकङस्थित मिसन रोड ग्राउन्डमा जारी हङकङ अन्तर्राष्ट्रिय सिक्स क्रिकेट प्रतियोगितामा नेपालले भारतमाथि ९२ रनको शानदार र एकतर्फी जित दर्ता गरेको छ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालसामु भारतीय टोली निरीह देखियो।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ६ ओभरमा कुनै पनि विकेट नगुमाई १३७ रनको विशाल योगफल तयार पारेको थियो। नेपालका लागि ब्याट्सम्यानहरूले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए।
नेपालको इनिङ्समा राशिद खानले विस्फोटक ब्याटिङ गर्दै मात्र १७ बलमा ४ चौका र ६ छक्कासहित ५५ रन बनाएर रिटायर्ड हर्ट भए।
त्यस्तै, कप्तान तथा विकेटकिपर सन्दीप जोराले अविजित रहँदै मात्र १२ बलमा ४ चौका र ५ छक्काको मद्दतले ४७ रनको उत्कृष्ट पारी खेले।
अन्त्यमा ब्याटिङमा आएका लोकेश बमले पनि आफ्नो आक्रामक रूप देखाउँदै मात्र ७ बलमा १ चौका र ४ छक्कासहित ३१ रनमा अविजित रहे। नेपाली ब्याट्सम्यानहरूको आक्रामक प्रदर्शनसामु भारतीय बलरहरू पूर्ण रूपमा असफल रहे।
१३८ रनको विशाल लक्ष्य पछ्याएको भारतीय टोली सुरुदेखि नै दबाबमा आयो र नेपाली बलरहरूको घातक बलिङसामु टिक्न सकेन। भारतीय टोलीले मात्र ३ ओभरमा आफ्ना सबै ६ विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो।
भारतका लागि भरत चिप्ली र प्रियांक पञ्चालले सर्वाधिक १२/१२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त थिएन।
भारतीय ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा नेपालका लागि ब्याटिङमा चम्किएका राशिद खानले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे। उनले आफ्नो १ ओभरमा मात्र ७ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
त्यसैगरी, बसिर अहमदले १२ रन दिएर २ विकेट तथा रुपेश सिंहले १ विकेट लिए।
कात्तिक २२, २०८२ शनिबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।