तालिबानले ‘हामीमाथि भरोसा गर्नुस्’ मात्र भनिरहेपछि भाँडियो वार्ता, पाकिस्तानले भन्यो- ‘अब त आशै छैन’

तालिबानले ‘हामीमाथि भरोसा गर्नुस्’ मात्र भनिरहेपछि भाँडियो वार्ता, पाकिस्तानले भन्यो- ‘अब त आशै छैन’

एजेन्सी : पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान र अफगानिस्तानबीचको वार्ता पूर्ण रूपमा रोकिएको बताएका छन्। वार्ता असफल भएपछि पाकिस्तानी प्रतिनिधिमण्डल फर्किसकेको छ।

बीबीसी उर्दूका अनुसार, एक टेलिभिजन कार्यक्रममा बोल्दै मन्त्री आसिफले भने, ‘अब अर्को चरणको वार्ताका लागि न कुनै कार्यक्रम तय भएको छ, न त कुनै आशा नै बाँकी छ।’

ख्वाजा आसिफले दाबी गरेअनुसार, वार्ताका क्रममा अफगान पक्षले पाकिस्तानको अडान स्वीकार गरे पनि त्यसलाई लिखित रूपमा दिन तयार भएन। उनीहरूले केवल मौखिक रूपमा ‘हामीमाथि भरोसा गर्नुहोस्’ मात्र भनिरहेका थिए।

आसिफले भने, ‘वार्ताको अन्तर्राष्ट्रिय नियम नै हरेक कुरा लिखित हुनुपर्छ भन्ने हो।’

उनले थपे, ‘अब मध्यस्थकर्ताहरू पनि पछि हटेका छन्। यदि सफल हुने कुनै आशा हुँदो हो त हाम्रो टोली खाली हात फर्कने थिएन। यसले देखाउँछ कि मध्यस्थकर्ताले पनि अफगान पक्षबाट आशा मारिसकेका छन्।’

मन्त्री आसिफले चेतावनी दिँदै भने, ‘यदि अवस्था फेरि बिग्रियो र अफगानिस्तानको भूमिबाट हामीविरुद्ध कुनै कारबाही भयो भने पाकिस्तानले तत्काल जवाफ फर्काउनेछ।’

पाकिस्तान र अफगानिस्तानबीचको यो वार्तामा कतारले मध्यस्थता गरिरहेको थियो। गत महिना पाकिस्तानले अफगानिस्तानका सीमावर्ती क्षेत्रहरूमा हवाई हमला गरेको थियो।

पाकिस्तानले तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का लडाकुहरूले अफगानिस्तानबाट पाकिस्तानमाथि हमला गरिरहेको आरोप लगाउँदै आएको छ। उसका अनुसार, यी लडाकुहरूलाई अफगानिस्तानको तालिबान सरकारले संरक्षण दिएको छ।

उता, अफगानिस्तानको तालिबान सरकारले भने आफ्नो देशको सार्वभौमसत्ताको रक्षा जुनसुकै मूल्यमा गर्ने बताउँदै आएको छ।

कात्तिक २२, २०८२ शनिबार १०:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।