गाजा नरसंहारको आरोपमा इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी
एजेन्सी : टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
उनीहरूमाथि गाजामा नरसंहार गरेको आरोप लगाइएको छ। समाचार एजेन्सी एएफपीका अनुसार टर्की सरकारले शुक्रबार यसबारे घोषणा गरेको हो।
यता, इजरायलले भने यसको कडा विरोध गरेको छ। इजरायलका विदेश मन्त्री गिदोन सारले आफ्नो देशले यी आरोपहरूको कडा निन्दा गर्ने र यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताएका छन्।
उनले यसलाई टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन नामका ‘तानाशाह’को नयाँ प्रचारबाजी भनेका छन्।
इस्तानबुलको अभियोजक कार्यालयले जारी गरेको एक विज्ञप्ति अनुसार कूल ३७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ, यद्यपि सबैको नाम भने सार्वजनिक गरिएको छैन।
पक्राउ पुर्जी जारी गरिएकाहरूमा इजरायलका रक्षा मन्त्री इजरायल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम पनि समावेश छ।
टर्कीले यी अधिकारीहरूमाथि ‘नरसंहार र मानवता विरुद्धको अपराध’ गरेको आरोप लगाएको छ। इजरायलले गाजामा ‘योजनाबद्ध तरिकाले नरसंहार’ गरेको टर्कीको दाबी छ।
कात्तिक २२, २०८२ शनिबार १०:०१:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।