दशैं-तिहारमा बक्स अफिस ‘फ्लप’, गत वर्षको छेउछाउसम्म पनि पुग्न सकेन चलचित्र व्यापार
काठमाडौं : नेपाली चलचित्र बजारका लागि दशैं र तिहार जस्ता महान चाडपर्वहरू सधैँ नै कमाइको सबैभन्दा ठूलो मौसम मानिन्छन्। दर्शकको घुइँचो र निर्माताको उत्साहले भरिने यो समयमा प्रदर्शन भएका चलचित्रले बक्स अफिसमा नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिन्छ।
गत वर्षको आँकडा हेर्ने हो भने यो अपेक्षा यथार्थमा परिणत भएको थियो, तर यस वर्षको व्यापारले भने चलचित्र क्षेत्रलाई निराश बनाएको छ। गत वर्षको तुलनामा यस वर्षको दशैं-तिहारको व्यापार एक छेउमा पनि पुग्न सकेन।
गत वर्षको दशैंमा प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा तहल्का मच्चाएका थिए। अभिनेता तथा निर्माता विराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्यो।
चलचित्र विकास बोर्डको आधिकारिक तथ्यांकअनुसार, यस चलचित्रले १९ करोड ९२ लाख ७२ हजार ४८ रुपैयाँको ग्रस कलेक्सन गर्दै त्यो समयको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो। यही चलचित्रबाट विराजका छोरा समिर भट्टले नायकको रूपमा डेब्यु गरेका थिए भने नायिका सनिशा भट्टराई र स्वयं विराजको पनि अभिनय थियो।
त्यसैगरी, दशैंको अर्को आकर्षण बनेको ‘छक्का पञ्जा’ टिमको चलचित्र ‘छक्का पञ्जा ५’ ले पनि दर्शकको मन जित्दै बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्यो। दीपाश्री निरौला निर्देशित यस चलचित्रले १५ करोड २० लाख ४३ हजार ७ सय २८ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भयो।
दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी, निर्मल शर्मा, राजाराम पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको यो चलचित्रले दशैंको माहोललाई थप उत्सवमय बनाएको थियो। यी दुई ठूला चलचित्रको भिडन्तमा परेको ‘ज्वाइँ साब’ले भने जेनतेन लगानी सुरक्षित गरेको अनुमान गरिए पनि यसको आधिकारिक कमाइ सार्वजनिक भएन।
गत वर्षको तिहार त नेपाली चलचित्र इतिहासकै लागि अविस्मरणीय बन्यो। लक्ष्मीपूजाको अवसर पारेर प्रदर्शनमा आएको ‘पूर्ण बहादुरको साराङ्गी’ले सबै कीर्तिमानहरू तोड्दै ४६ करोड ८० लाख २६ हजार ६ सय ७४ रुपैयाँको अकल्पनीय ग्रस कलेक्सन गर्यो।
सरोज पौडेल निर्देशित र गन्धर्व समुदायको कथा बोकेको यो चलचित्र अहिलेसम्मकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बन्न सफल भयो। विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ जस्ता कलाकारहरूको जीवन्त अभिनयले सजिएको यो चलचित्र हलहरूमा सय दिनसम्म चल्न सफल भएको थियो, जसकारण अन्य चलचित्रहरूले प्रदर्शनको मिति सार्नुपरेको थियो।
यस वर्षको निराशाजनक व्यापार
गत वर्षको त्यो उत्साहजनक माहोल यस वर्षको दशैंमा भने देख्न पाइएन। दशैंको फूलपातीमा तीनवटा नेपाली चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ एकसाथ प्रदर्शनमा आए। तर, तीनवटै चलचित्रले गत वर्षको तुलनामा निकै कमजोर व्यापार गरे।
सन्तोष सेन निर्देशित तथा समिर भट्ट, हेमन्त बुढाथोकी र ऋचा शर्मा अभिनीत एक्सन चलचित्र ‘बलिदान’ले कात्तिक १६ गते शनिबार रातिसम्म ५ करोड १० लाख ३४ हजार ८ सय २ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
करिब सात करोडको लगानीमा बनेको भनिएको यो चलचित्रलाई आफ्नो लगानी उठाउनै अझै सकस परेको देखिन्छ। किनकि, कुल ग्रस कलेक्सनबाट निर्माताको हातमा करिब ३५ प्रतिशत मात्रै आउने हुन्छ।
यस्तै, धिरज मगर, उपासना सिंह ठकुरी, प्रकाश सपुत, केदारप्रसाद घिमिरे जस्ता कलाकारहरू रहेको ‘माइतीघर’ले कात्तिक १६ गतेसम्म ४ करोड १५ लाख ५१ हजार ८ सय ८८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको लगानी कम भएकाले निर्माता सुरक्षित रहेको अनुमान गर्न सकिन्छ।
उता, हरिवंश आचार्यको मुख्य भूमिका रहेको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘हरिबहादुरको जुत्ता’ले पनि ४ करोड ७१ लाख ३७ हजार ६ सय ८७ रुपैयाँको ग्रस कलेक्सन गर्दै लगानी सुरक्षित गरेको देखिन्छ।
दशैंमा प्रदर्शन भएका चलचित्रहरूले कमजोर व्यापार गरिरहँदा दशैंपछि र तिहारअघि प्रदर्शनमा आएको ‘जेरी अन टप’ले भने बक्स अफिसमा केही राहत दियो।
अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा अभिनीत यो चलचित्रले शनिबार रातिसम्म १० करोड ५१ लाख ४८ हजार ८ सय ३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ, जुन दशैंका चलचित्रहरूको भन्दा दोब्बर हो। यद्यपि, सात करोडको हाराहारीमा लगानी भएको चर्चाका बीच यो चलचित्रलाई पनि नाफा कमाउनका लागि अझै राम्रो व्यापार गर्नुपर्ने चुनौती छ।
यस वर्षको तिहारको व्यापार दशैंको भन्दा पनि कमजोर रह्यो। भाइटीकामा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ तथा त्यसको भोलिपल्ट कलाकार विल्सन बिक्रम राई (तक्मे) को डेब्यु निर्देशनमा बनेको ‘मैझारो’ प्रदर्शनमा आए।
दयाहाङ राई र विजय बराल अभिनीत ‘वरिष्ठ बलराम’ले २ करोड ४८ लाख ३० हजार ४ सय ८८ रुपैयाँको ग्रस कलेक्सन गर्दै केही अगाडि देखियो। ‘मैझारो’ले १ करोड ९५ हजार ३ सय ९ रुपैयाँको व्यापार गर्दा प्रकाश सपुत अभिनीत ‘सोल्टिनी’ले भने २८ लाख ८० हजार १ सय ५६ रुपैयाँमा चित्त बुझाउनु पर्यो।
कात्तिक २२, २०८२ शनिबार ०९:३१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।