हङकङ सिक्सेस : नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित
हङकङ : हङकङमा जारी हङकङ अन्तर्राष्ट्रिय सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटको हार बेहोरेको छ।
नेपालले प्रस्तुत गरेको ५९ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो।
मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्यो र ३.३ ओभरमा आफ्ना सबै ६ विकेट गुमाएर जम्मा ५८ रनमा समेटियो। नेपालका लागि रसिद खानले सर्वाधिक १६ रन बनाए।
उनले मात्र ४ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै, लोकेश बमले ५ बलमा २ छक्कासहित १४ रन र मोहम्मद आदिल आलमले ४ बलमा २ छक्कासहित १३ रन जोडे।
नेपाली ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा दक्षिण अफ्रिकाका ब्लेक सिम्पसन, जोरिच भान शाल्कविक र अब्दुल्लाह बायोमीले समान २-२ विकेट लिए।
जवाफमा ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पनि १७ रन बनाउँदा २ विकेट गुमाएको थियो। नेपालका लोकेश बमले एकै ओभरमा दुई विकेट लिएर खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन्।
त्यसपछि ब्याटिङमा आएका ब्लेक सिम्पसनले विस्फोटक ब्याटिङ गर्दै ९ बलमा २ चौका र ३ छक्कासहित अविजित ३० रन बनाए।
उनलाई अब्दुल्लाह बायोमीले अविजित १६ रन बनाउँदै राम्रो साथ दिए, जसका कारण दक्षिण अफ्रिकाले १४ बल बाँकी छँदै सहज जित निकाल्यो।
कात्तिक २२, २०८२ शनिबार ०८:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।