प्रहरी कार्यालय तोडफोड आरोपमा श्रीमान्-श्रीमती पक्राउ
बनियानी : झापामा प्रहरीले बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ।
‘जेनजी आन्दोलन’का क्रममा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-६ का २२ वर्षीय पदम राई र उनकी २४ वर्षीया श्रीमती पूजा मगर रहेका छन्।
उनीहरूलाई बिर्तामोड नगरपालिका-५ स्थित त्रिवेणी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद खड्काले जानकारी दिए।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयमा भएको तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ।
कात्तिक २२, २०८२ शनिबार ०७:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।