ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
ढोरपाटन : बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग ३ च ३८१९ नम्बरको जीप ढोरपाटन नगरपालिका-८ र ९ को सिमाना च्वावीरमा मंगलबार दुर्घटनामा परेको हो।
दुर्घटनामा ढोरपाटन नगरपालिका-७ का २३ वर्षीय राजेन्द्र अदैको घटनास्थलमै मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। घाइते भएका अन्य चार जनाको पहिचान खुल्न सकेको छैन।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ। जीप सडकबाट अनियन्त्रित भई भूजीखोलामा खसेको थियो।
घटनाको खबर पाएलगत्तै स्थानीय र नेपाल प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाएको छ।
घटनास्थलमा रहनुभएका उपप्रमुख कायतले भने, ‘एक जनालाई गाडीले च्यापेको अवस्थामा मृत फेला पारियो। घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ।’
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २२, २०८२ शनिबार ०७:१५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।