एनपीएलको दोस्रो संस्करणको ‘पावर्ड बाइ’ साझेदारीमा एनसेलको निरन्तरता
काठमाडौं : एनसेलले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाइ’ साझेदारीलाई निरन्तरता दिएको छ।
‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ भन्ने थीमसहित यस वर्ष पनि एनसेल ‘पावर्ड बाइ पार्टनर’ का रूपमा सहभागी हुने भएको हो।
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएल सिजन–२ मा देशका सात टिमले प्रतिस्पर्धा गर्नेछन्। व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता नेपाली र विदेशी खेलाडीहरूको संयोजनका कारण देश–विदेशका क्रिकेटप्रेमीबीच चासोको विषय बनेको छ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकारी उपङ्ग दत्तले भने, ‘हालैका टी–२० प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको छ। क्रिकेट अब केवल खेल नभई देशलाई जोड्ने माध्यम बनेको छ। त्यसैले हामी यो महाउत्सवमा ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ भन्ने थीमसहित सहभागी हुन पाउँदा अत्यन्त खुशी छौं।’
उनका अनुसार एनसेलले यस संस्करणका हरेक क्षण क्रिकेट फ्यानलाई जहाँ भए पनि जोडिराख्नेछ। “घर, अफिस वा बाटोमा भए पनि, एनसेलको कनेक्टिभिटीमार्फत फ्यानहरूले खेलको रोमाञ्चित क्षणहरू प्रत्यक्ष हेर्न सक्नेछन्,” उनले थपे।
एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न सक्ने सुविधा पनि उपलब्ध गराउनेछ। कम्पनीका अनुसार यो साझेदारीले केवल खेल प्रतिभा प्रवद्र्धन मात्र होइन, सम्पूर्ण क्रिकेट संस्कृतिलाई देशभर फैलाउने लक्ष्य लिएको छ।
नेपाल क्रिकेट संघका महासचिव पारस खड्काले भने, “क्रिकेटको विकासका लागि निरन्तर साथ दिँदै आएको एनसेललाई फेरि पनि ‘पावर्ड बाइ पार्टनर’ का रूपमा पाउँदा हामी अत्यन्त खुसी छौं। यस किसिमको सहकार्यले नेपाली क्रिकेटलाई विश्वमञ्चमा स्थापित गर्न ठूलो भूमिका खेल्नेछ।”
स्थापना कालदेखि नै एनसेलले नेपालमा खेलकुद विकास र प्रतिभा उत्थानका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।
कात्तिक २१, २०८२ शुक्रबार २०:२१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।