धुलाम्मे मेसिनको धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
काभ्रे : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर)बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ कार्यको औपचारिक शुभारम्भ गरेका छन्।
लामो समयदेखि रोकिएको लाइसेन्स छपाइ कार्य पुनः सुरु हुनु राष्ट्रिय आत्मनिर्भरताको दिशामा एक महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ।
शुभारम्भ समारोहमा मन्त्री खरेलले वर्षौँदेखि थन्किएका मेसिनहरूको धुलो टकटक्याएर छपाइ सुरु गरिएको बताए। उनले भने, ‘तीन वर्षदेखि प्रयोगविहीन रहेका मेसिन र उपकरणहरू धुलाम्मे अवस्थामा थिए, ठाउँ नै खण्डहरजस्तो देखिन्थ्यो। तर अब त्यही मेसिनबाट लाइसेन्स छपाइ सुरु गरेर आत्मनिर्भरताको नयाँ यात्रा सुरु गरेका छौँ।’
मन्त्री खरेलले कानुनी र प्राविधिक जटिलताबीच पनि संवेदनशील कागजातको छपाइ स्वदेशमै गर्न सक्षम हुनु सरकारको ठूलो सफलता भएको उल्लेख गर्दै यसले तथ्याङ्क सुरक्षासँगै विदेशी मुद्राको ठूलो मात्राको बचत गर्ने बताए। उनका अनुसार हाल करिब २८ लाख सवारी चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ, जसको छपाइले सेवाग्राहीले वर्षौँदेखि भोग्दै आएको सास्ती अन्त्य गर्नेछ।
सो अवसरमा सञ्चार सचिव तथा सुरक्षण मुद्रण केन्द्रका अध्यक्ष राधिका अर्यालले ‘हजार माइलको यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ’ भन्दै आजको शुभारम्भ त्यस यात्राको पहिलो कदम भएको बताइन्। उनले सुरक्षण मुद्रण केन्द्र ऐनले दिएको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्धता जनाउँदै आगामी दिनमा सबै प्रकारका संवेदनशील कागजातहरू स्वदेशमै छाप्ने दिशामा अघि बढ्ने प्रतिवद्धता जनाइन्।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आफ्नै देशको प्रेसमार्फत लाइसेन्स छपाइ सुरु हुनु राज्यको सम्पत्तिको सदुपयोग भएको टिप्पणी गर्दै यस कार्यको दिगोपनाका लागि नगरपालिकाको सहकार्य रहने बताए।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले केन्द्रमा जडान गरिएका अत्याधुनिक मेसिनहरूले सवारी चालक अनुमतिपत्र मात्र नभई नागरिकता, अन्तःशुल्क स्टिकर, भिसा स्टिकर, लालपूर्जा, हुलाक टिकट लगायतका संवेदनशील कागजात छाप्न सक्ने क्षमता भएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा यातायात व्यवस्था विभागसँग भएको समझदारीपत्र (एमओयू) अनुसार केन्द्रले छ महिनाभित्र १२ लाख थान स्मार्ट लाइसेन्स छाप्ने लक्ष्य लिएको छ।
ढुङ्गानाले नयाँ कार्डमा चिप नभए पनि उच्चस्तरको सुरक्षा प्रणाली समावेश गरिने बताए। “नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता हुनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन्,” उनले भने, “ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर कोड स्क्यान गरेर जाँच गर्न सक्नेछ।”
उनका अनुसार नयाँ कार्ड अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत र सुरक्षित हुनेछ। सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ अनुसार केन्द्रलाई आत्मनिर्भर बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति गर्ने प्रतिबद्धता उनले जनाए।
सुरक्षण मुद्रण केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ। छपाइ कार्य सुरु भएपछि लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका लाखौँ सेवाग्राही लाभान्वित हुने र सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले अहिले करिब ३० लाख कार्ड राजस्व लिएर पनि वितरण गर्न नसकिएको अवस्थाको अन्त्य हुने बताए।
कात्तिक २१, २०८२ शुक्रबार १९:२९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।