सरकारसँग ‘भ्यानिटी भ्यान’ माग्दा ज्योतीले नीतिलाई उडाइन्
काठमाडौंः गायिका ज्योति मगर राजनीतिक तथा समसामयिक विषयमा निक्कै चासो राख्छिन्। आफूलाई चित्त नबुझेको कुरा सामाजिक सञ्जालमा लेखि हाल्छिन्। त्यो पनि आफ्नै शैलीमा।
बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पुगेका फिल्मकर्मीहरूले आ-आफ्नो माग प्रस्तुत गरेका थिए। सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग कलाकार दीपक राज गिरीले स्वतन्त्र कलाकारमाथिको आक्रमण रोक्न आग्रह गरे।
त्यसैगरी फिल्मका निर्देशक तथा निर्माता मिलन चाम्सले चलचित्रमा चाहिने गोली-गट्ठा र बन्दुकको समस्या देखाएका थिए।
तर सोही कार्यक्रममा पुगेकी अभिनेत्री नीति शाहले चलचित्र क्षेत्रका महिला कलाकारलाई भ्यानिटी भ्यानको खाँचो भएकाले त्यसका लागि लगानीको पहल गर्न मन्त्री खरेलसँग आग्रह गरिन्।
मन्त्रीलाई आफूले भोगेको एक घटना सुनाउँदै उनले महिला कलाकारहरूलाई सुटिङका समयमा वासस्थानको समेत समस्या हुने बताइन्।
उनले भनिन्, ‘हामीसँग भ्यानिटी भ्यान छैन। फन्डिङ हुन्छ कि ? ३-४ वटा भ्यानिटी भ्यान भए पनि ल्याउनुपर्ने देखियो। बसमा वासरुम अट्याच गर्न पनि सकिन्छ। यसले महिला कलाकारलाई सजिलो हुन्थ्यो कि?’
नीतिको यो भनाइ समाचारका रूपमा बाहिर आएपछि गायिका ज्योति मगरले व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएकी छन्।
उनले लेखेकी छन्- ‘आम नेपालीले सिटामोल खान पाएका छैनन्, आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हिरोइनहरूलाई सुसु गर्न सजिलो हुने भ्यानिटी भ्यान चाहिएको छ।’
सरकार र मन्त्रीहरूसँग आ-आफ्नो क्षमताअनुसार माग हुने भन्दै उनले नीतिलाई उडाएकी छन्। ज्योतिले थपेकी छन्- ‘माफ पाऊ है, सरकार र मन्त्रीहरूसँग माग पनि आ-आफ्नो लेभलको हुने रहेछ। हामीलाई शिक्षा, स्वास्थ्य र गाँस–वास–कपासको आवश्यकता छ। सेलेब्रिटीहरूलाई वाइफाइ, सोसल मिडिया र भ्यानिटी भ्यानको आवश्यकता रहेछ। लौ न सञ्चारमन्त्रीज्यू, हिरोइन बुइनीहरूको माग पूरा गरिदिनु पर्यो।’
कात्तिक २१, २०८२ शुक्रबार १७:५०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।