जेन-जीको सडकबाटै ‘रातो क्रान्ति’ देखाएको भन्दै रास्वपाले भन्यो- ‘हाम्रो र उनीहरुको मुद्दा एउटै हो’

जेन-जीको सडकबाटै ‘रातो क्रान्ति’ देखाएको भन्दै रास्वपाले भन्यो- ‘हाम्रो र उनीहरुको मुद्दा एउटै हो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालैको जेन-जी आन्दोलनलाई ‘पुराना दलहरूको शासकीय अनैतिकता र अक्षमताको परिणाम’ भन्दै त्यसले मुलुकको राजनीतिलाई नयाँ मोडमा ल्याएको निष्कर्ष निकालेको छ।

चितवनमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाले जेन-जी आन्दोलनका मुद्दा र आफ्नो पार्टीको एजेन्डामा आधारभूत समानता रहेको दाबी गर्दै अबको बाटो निर्वाचनमार्फत उक्त आन्दोलनको म्यान्डेटलाई संस्थागत गर्नु रहेको बताएको छ।

कार्यवाहक सभापति डी.पी. अर्यालद्वारा प्रस्तुत प्रतिवेदनले जेन-जी आन्दोलनलाई आफ्नो विश्लेषणको केन्द्रमा राखेको छ।

रास्वपाले उक्त आन्दोलनलाई अप्रत्याशित घटनाको रूपमा नभई, पुराना दलहरूको कुशासन, भ्रष्टाचार र राज्यदोहनका कारण नागरिकमा चुलिएको आक्रोशको अपेक्षित विस्फोटको रूपमा व्याख्या गरेको छ।

रास्वपाले जेन-जी आन्दोलन र आफ्नो अभियानबीचको सम्बन्धलाई प्रस्ट्याउँदै दुवैको लक्ष्य एउटै रहेको तर बाटो मात्र फरक भएको बताएको छ। प्रतिवेदनमा भनिएको छ, ‘मुद्दा, माग र उपलब्धीमा जेन-जी र हामीमा १९/२० को फरक थिएन, छैन। मात्रै क्रान्तिको बाटो फरक भएको हो।’

रास्वपाले आफू २०८४ को चुनावमार्फत मतको बलमा ‘निलो क्रान्ति’ गर्ने योजनामा रहेको तर जेन-जी पुस्ताले त्यो समयसम्म नपर्खी सडकबाटै ‘रातो क्रान्ति’ गरेको विश्लेषण गरेको छ।

यसले केही हदसम्म पुराना राजनीतिक दलहरू प्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षणका कारण ‘व्यवस्था होइन अवस्था परिवर्तन’ को नारालाई अनुमोदन गरेको पार्टीको ठहर छ।

पुराना दलहरूबीचको सत्तास्वार्थले स्थिर सरकार बन्न नसकेर विकास अवरुद्ध, ठूला भ्रष्टाचार काण्डमा राजनीतिक संरक्षण र दण्डहीनता, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी, गुटबन्दी, नातावाद र कृपावादले नयाँ पुस्तालाई स्थान नदिँदा अनि  बेरोजगारीका कारण जेन-जी आन्दोलन भएको प्रतिवेदनमा उल्लेख छ।

रास्वपाले जेन-जी आन्दोलनको बलमा बनेको वर्तमान अन्तरिम सरकारलाई ‘परिस्थितिको बाध्यात्मक उपज तर आन्दोलनको म्यान्डेट’ भनेको छ। आन्दोलनको भावना र म्यान्डेटलाई संस्थागत गर्ने एक मात्रै वैधानिक बाटो निर्वाचन भएको बताउँदै प्रतिवेदनले पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ।

‘घोषित मितिमा अन्तरिम सरकारले गर्ने निर्वाचन नै 'डिरेल' भएको संविधानलाई लिकमा ल्याउने वैध, सरल र सहज बाटो हो’, प्रतिवेदनमा उल्लेख छ। साथै, जेन-जी आन्दोलनको म्यान्डेट र युवा पुस्ताको भावनालाई सम्बोधन गर्न संविधान परिमार्जन अपरिहार्य रहेको समेत रास्वपाको ठहर छ।

समग्रमा, रास्वपाले आफ्नो राजनीतिक प्रतिवेदनमार्फत जेन-जी आन्दोलनले सिर्जना गरेको राजनीतिक तरंगलाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति बनाएको छ। आन्दोलनका मुद्दालाई आफ्नो एजेन्डासँग जोड्दै रास्वपाले आफूलाई परिवर्तनको मुख्य संवाहकको रूपमा प्रस्तुत गर्दै निर्वाचनमा जान तयार रहेको स्पष्ट सन्देश दिएको छ।

कात्तिक २१, २०८२ शुक्रबार १३:५३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।