क्रिकेट लिग बिचमै छाडेर फरार भए भारतीय आयोजक, क्रिस गेलसहितका खेलाडी होटलमै फसे

क्रिकेट लिग बिचमै छाडेर फरार भए भारतीय आयोजक, क्रिस गेलसहितका खेलाडी होटलमै फसे

एजेन्सी : भारतको कश्मीरमा तामझामका साथ शुरू भएको एक निजी क्रिकेट लिगमा ठगी भएको छ। ‘इन्डियन हेभन प्रिमियर लिग’ नाम दिइएको उक्त प्रतियोगिताका आयोजकहरू खेलाडी, सहयोगी स्टाफ र होटलको लाखौं रुपैयाँ भुक्तानी नगरी बिचमै फरार भएका छन्।

पञ्जाबको ‘युवा सोसाइटी’ नामक एक गैर-नाफामूलक संस्थाले आयोजना गरेको यो लिगको सुरुवात निकै आकर्षक थियो। प्रतियोगितामा वेस्ट इन्डिजका विश्वचर्चित क्रिकेटर क्रिस गेल र डेभोन स्मिथ जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरूले समेत सहभागिता जनाएका थिए, जसले स्थानीय खेलाडीहरूलाई उत्साहित बनाएको थियो।

तर, केही खेलहरू सकिनासाथ प्रतियोगिता एकाएक रोकियो र आयोजकहरू १ नोभेम्बरको राति कसैलाई थाहै नदिई कश्मीरबाट भागे। उनीहरूले खेलाडीको पारिश्रमिकदेखि बसेको होटलको बिलसम्म तिरेका छैनन्।

२५ अक्टोबरबाट शुरू भएको यो लिग ८ नोभेम्बरसम्म चल्ने तालिका थियो। तर, जम्मा १२ वटा खेल सकिएपछि आयोजकहरू सम्पर्कविहीन भए। आयोजक किन भागे भन्ने यकिन कारण नखुले पनि लिगले दर्शकहरूलाई आकर्षित गर्न नसकेको बताइएको छ।

स्थानीय खेलाडीहरूका अनुसार, क्रिस गेलले खेलेको पहिलो खेल हेर्न जम्मा ४००-५०० दर्शक मात्र पुगेका थिए। आयोजकले टिकटको मूल्य घटाउँदा पनि दर्शक नआएपछि उनीहरू आर्थिक संकटमा परेको अनुमान गरिएको छ।

लिग अचानक रोकिँदा स्थानीय र विदेशी खेलाडीहरू होटलमै अलपत्र परेका थिए। होटल व्यवस्थापनले सीसीटीभी फुटेजमा आयोजकहरू मध्यरातमा भाग्दै गरेको देख्दा आफूहरू स्तब्ध भएको बताएको छ। होटलको लाखौं रुपैयाँ भुक्तानी बाँकी रहेको उनीहरूको आरोप छ।

इंग्ल्यान्डकी अम्पायर मेलिसा जुनिपरका अनुसार, आयोजक भागेपछि करिब ४० जना स्थानीय र विदेशी खेलाडीहरूले पाउनुपर्ने करिब ५० लाख भारतीय रुपैयाँ डुबेको छ। कथित रूपमा बेलायती दूतावासको हस्तक्षेपपछि मात्रै विदेशी खेलाडीहरूलाई होटलबाट जान दिइएको थियो।

यो घटनापछि पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर परवेज रसूलले यसलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै खराब व्यवस्थापनले यस्तो अवस्था निम्त्याएको बताए। उनले आफूले पनि प्रतियोगितामा खेलेबापतको रकम नपाएको आरोप लगाए।

स्थानीय तीव्र गतिका बलर अबिद नबीले भने, ‘अन्तर्राष्ट्रिय खेलाडीहरूसँग ड्रेसिङ रुम सेयर गर्न र अनुभव साट्न यो लिग हाम्रा लागि सुनौलो अवसर थियो, तर सबै सपना चकनाचुर भयो।’

यो घटनाले बिना कुनै बलियो अनुगमन यति ठूलो प्रतियोगिता कसरी आयोजना गर्न दिइयो भन्नेमा गम्भीर प्रश्न खडा गरेको छ। यद्यपि, स्थानीय प्रशासनले भने आफ्नो भूमिका केवल कार्यक्रम स्थलको स्वीकृति दिनुसम्म मात्र सीमित रहेको बताएको छ।

जम्मू-कश्मीरका डिभिजनल कमिश्नर अंशुल गर्गले घटनाबारे छानबिन गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने आश्वासन दिएका छन्। प्रहरीले पनि धोखाधडी र विश्वासघातको मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

यो घटनाले कश्मीरका क्रिकेटप्रेमी र खेलाडीहरूको विश्वासमाथि ठूलो चोट पुर्याएको छ। एक स्थानीय क्रिकेटप्रेमीले भने, ‘तपाईं क्रिस गेल जस्ता स्टारलाई बोलाएर यसरी अचानक हराउन सक्नुहुन्न। यसले हाम्रो भरोसा तोडेको छ।’

कात्तिक २१, २०८२ शुक्रबार १३:२२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।