‘वानएक्सबेट’को प्रचार गर्दा भारतीय क्रिकेटर रैना र धवनको ११ करोडभन्दा बढीको सम्पत्ति जफत
एजेन्सी : भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनमाथि ठूलो कारबाही गरेको छ।
ईडीले दुवै खेलाडीको ११ करोड १४ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति अस्थायी रूपमा जफत गरेको हो।
अवैध सट्टेबाजी प्लेटफर्म ‘वानएक्सबेट’को प्रचार र प्रवर्द्धनमा संलग्न भएको आरोपमा उनीहरूको सम्पत्ति जफत गरिएको ईडीले जनाएको छ।
ईडीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस कारबाहीको जानकारी दिएको हो।
उसका अनुसार सुरेश रैनाको नाममा रहेको ६ करोड ६४ लाख भारतीय रुपैयाँ बराबरको म्युचुअल फन्ड लगानी र शिखर धवनको नाममा रहेको ४ करोड ५० लाख भारतीय रुपैयाँ बराबरको अचल सम्पत्ति जफत गरिएको हो।
यो कारबाही सम्पत्ति शुद्धीकरण निवारण ऐन, २००२ अन्तर्गत गरिएको हो। अवैध सट्टेबाजी र त्यसबाट हुने आर्थिक कारोबारलाई निरुत्साहित गर्न ईडीले यो कदम चालेको हो।
कात्तिक २१, २०८२ शुक्रबार १३:०४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।