हलमा ‘परान’को दबदबा कायमै, प्रतिस्पर्धामा उत्रिए ‘जारी २' र ‘मनविनाको धन’

हलमा ‘परान’को दबदबा कायमै, प्रतिस्पर्धामा उत्रिए ‘जारी २' र ‘मनविनाको धन’

काठमाडौं : नेपाली चलचित्र बजारमा आजदेखि दुई नयाँ चलचित्र ‘जारी २’ र ‘मनविनाको धन’ प्रदर्शनमा आएका छन्।

तर, गत हप्तादेखि नै चलचित्र ‘परान’ले दर्शकको मन जित्दै हलमा आफ्नो बलियो पकड बनाउँदा नयाँ फिल्महरूले पर्याप्त शो पाएका छैनन्

गत हप्ता रिलिज भएको सामाजिक तथा पारिवारिक चलचित्र ‘परान’ले सुरुवाती दिनमा सामान्य व्यापार गरे पनि अहिले दर्शकको अत्यधिक माया पाइरहेको छ।

बलियो ‘वर्ड अफ माउथ’का कारण चलचित्र हेर्ने दर्शकको संख्या दिन प्रतिदिन बढिरहेको छ। दर्शकको चाप बढेपछि हल सञ्चालकहरूले ‘परान’को शो संख्या बढाएका छन्।

नीर शाह, मदनकृष्ण श्रेष्ठ, प्रवीण खतिवडा, केकी अधिकारी, बुद्धि तामाङ र अञ्जना बराइली जस्ता कलाकारहरूको अभिनय रहेको यो चलचित्रले परिवारको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेकाले दर्शकले रुचाएका हुन्।

यही माहोलका बीच आजबाट दुई नयाँ चलचित्रले हलमा पाइला टेकेका छन्।

सफल चलचित्र ‘जारी’को सिक्वेलको रूपमा आएको ‘जारी २’ लाई दर्शकले प्रतीक्षा गरिरहेका थिए, जसकारण यसले राम्रो संख्यामा शो पाएको छ। तर, अर्को नयाँ चलचित्र ‘मनविनाको धन’ले भने तुलनात्मक रूपमा निकै कम शो पाएको छ।

चलचित्रका निर्देशक तथा संगीतकार टंक बुढाथोकीले सामाजिक सञ्जालमार्फत आफ्नो चलचित्रलाई उचित शो नदिइएको भन्दै असन्तुष्टि पोखेका छन्।

चलचित्र ‘जारी २’ असोजको पहिलो साता नै प्रदर्शन हुने तयारीमा थियो, तर ‘जेन-जी आन्दोलन’का कारण उत्पन्न परिस्थितिले गर्दा यसको प्रदर्शन रोकिएको थियो। अवस्था सामान्य भएसँगै निर्माता तथा निर्देशक उपेन्द्र सुब्बाले चलचित्रलाई दर्शकमाझ ल्याएका हुन्।

‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, बिजय बराल, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ भने ‘मनविनाको धन’ बालगायक अशोक दर्जीको कथामा बनेको फिल्म हो। यसमा अशोकसँगै टंकका छोरा एआर बुढाथोकी, नीता ढुङ्गाना, सरोज खनाल लगायतका कलाकार छन्।

कात्तिक २१, २०८२ शुक्रबार १२:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।