सिन्धुपाल्चोकमा ट्याक्टरले किचेर बालकको मृत्यु, फरार चालक पक्राउ

सिन्धुपाल्चोकमा ट्याक्टरले किचेर बालकको मृत्यु, फरार चालक पक्राउ

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्चीमा ट्याक्टरबाट झर्ने क्रममा टायरले च्यापेर एक बालकको मृत्यु भएको छ। घटनापछि फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार, कार्तिक २० गते साँझ करिब ७:०० बजे मेलम्ची-नवलपुर भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो।

मेलम्चीबाट नवलपुरतर्फ जाँदै गरेको ना ६ त ८४१९ नम्बरको ट्याक्टरको ट्रलीमा सवार सिन्धुली जिल्ला मरिन गाउँपालिका-५ का १३ वर्षीय रोशन नेपाली चल्दै गरेको ट्याक्टरबाट झर्ने क्रममा सोही ट्याक्टरको टायरले च्यापिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई स्थानीयले तत्काल उपचारका लागि नवलपुर प्राथमिक अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे।

घटनालगत्तै चालक, सिन्धुलीकै ३० वर्षीय बुद्धिमान माझी, फरार भएका थिए। तर, इलाका प्रहरी कार्यालय, मेलम्चीबाट खटिएको टोलीले उनलाई सोही राति करिब ९:५५ बजे मेलम्ची बजारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि मेलम्ची नगर अस्पताल पठाइएको छ।

कात्तिक २१, २०८२ शुक्रबार १०:३१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।