काभ्रेको बनेपामा गाडीको ठक्करबाट एक महिलाको मृत्यु, सवारीसहित चालक फरार
काभ्रे : काभ्रेको बनेपामा हिजो साँझ नम्बर नखुलेको गाडीको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनसहित चालक फरार भएका छन् र प्रहरीले खोजी कार्य जारी राखेको छ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार बनेपा नगरपालिका-९ स्थित निष्ट कलेज अगाडि हिजो साँझ करिब ६:३० बजे नालाबाट बनेपातर्फ आउँदै गरेको डिआई गाडीले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेकी उनको उपचारका क्रममा सोही दिन साँझ ७:१० बजे मृत्यु भएको अस्पतालले घोषणा गरेको हो।
प्रहरीका अनुसार मृतक काभ्रेको तेमाल गाउँपालिका-८, मेछेपौवाकी अन्दाजी ४० वर्षीया अप्सरा रायमाझी रहेको खुलेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय, बनेपाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले फरार रहेको सवारी साधन र चालकको खोजी कार्यलाई तीव्र पारेको जनाएको छ। मृतकको शव हाल शिर मेमोरियल अस्पतालमै राखिएको छ।
कात्तिक २१, २०८२ शुक्रबार १०:२२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।