हङकङ सिक्सेस : रसिद खानको ह्याट्रिक लिए पनि अफगानिस्तानसँग हार्यो नेपाल
काठमाडौं : हङकङमा जारी अन्तर्राष्ट्रिय सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।
नेपाली टोलीका कप्तान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
मङकङस्थित मिशन रोड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ११२ रनको विशाल योगफल तयार पारेको थियो।
अफगानिस्तानका लागि करिम जनतले मात्र १० बलमा ४ छक्का र २ चौकासहित ३५ रन बनाए भने फरमानुल्लाहले ९ बलमा अविजित ३० रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ रसिद खानले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित सर्वाधिक ४ विकेट लिए।
११३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गर्दै मात्र १४ बलमा ८ छक्का र १ चौकाको मद्दतले ५३ रन बनाए।
यो प्रतियोगितामा कुनै पनि खेलाडीले ५० रन बनाएपछि ब्याटिङ गर्न नपाउने व्यवस्था छ। सोही अनुसार उनी ‘रिटायर्ड हर्ट’ भए। त्यसपछि नेपालको रनगतिमा कमी आएको हो।
लोकेस बम १० बलमा १० रन बनाएर क्याचआउट भए। उनले धेरै बल खाएर रन बनाउन नसक्दा नेपालको रनगति सुस्त भएको थियो।
रसिद खान र मोहम्मद आदिल आलमले समान ११-११ रन जोडे पनि टोली लक्ष्यसम्म पुग्न सकेन। अफगानिस्तानका लागि फरमानुल्लाह र इजाज अहमद अहमदजाईले एक-एक विकेट लिए।
नेपालले अब भोलि विहान छ बजे आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।
कात्तिक २१, २०८२ शुक्रबार १०:११:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।