सुप्रिम सहकारी ठगी प्रकरण : जीबी राई र छविलाल जोशीको मुद्दामा उच्च अदालतले मिसिल झिकायो

सुप्रिम सहकारी ठगी प्रकरण : जीबी राई र छविलाल जोशीको मुद्दामा उच्च अदालतले मिसिल झिकायो

बुटवल : बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम अपचलन तथा संगठित अपराधको अभियोगमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक जीबी राई र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीबाट सक्कल मिसिल (मुद्दाको फाइल) झिकाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा तोकिएको सुनुवाइका क्रममा कागजात अपूर्ण रहेको भन्दै अदालतले यस्तो आदेश दिएको हो।

सुनुवाइको सुरुमा पूर्वडीआईजी जोशीका तर्फबाट अधिवक्ता अपूर्ण खतिवडाले बहस गरेका थिए। सोही क्रममा न्यायाधीशहरूले मुद्दाको सुनुवाइका लागि मिसिल अपुग भएको भन्दै जिल्ला अदालतबाट भएको आदेशसहितको सक्कल फाइल झिकाएर मात्र अर्को पेसी तोक्ने निर्णय सुनाएका हुन्। यसका कारण राईका पक्षका कानुन व्यवसायीले बहस गर्न पाएनन्।

जिल्ला अदालतबाट फाइल प्राप्त भएपछि मात्र मुद्दाको अर्को पेसी तोकिनेछ।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले राई र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवैलाई सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। सोहीअनुसार बिहीबार दुवैको मुद्दा एकसाथ पेसीमा राखिएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनले आफ्नो भागको बिगो रकम बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत राखेर थुनामुक्त हुन पाऊँ भनी निवेदन दिएका थिए। तर, न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनको निवेदन अस्वीकार गरेको थियो।

जिल्ला अदालतको सोही आदेशविरुद्ध राईले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। सुप्रिम सहकारी ठगीमा राईसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ।

कात्तिक २१, २०८२ शुक्रबार ०९:२६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।