आगजनीले नष्ट भएका मिसिल उपलब्ध गराउन सर्वोच्चको आग्रह, मंसिर १ गतेदेखि सबै सेवा सुचारु हुने
काठमाडौं : सर्वोच्च अदालतले गत भदौ २४ गते भएको आगजनी तथा तोडफोडको घटनाबाट नष्ट भएका मुद्दाका मिसिलहरू पुनर्निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ।
अदालतले एक सार्वजनिक सूचना जारी गर्दै नष्ट भएका मिसिलसँग सम्बन्धित कागजातहरू उपलब्ध गराइदिन मुद्दाका पक्ष, कानून व्यवसायी तथा सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।
साथै, अदालतले आगामी मंसिर १ गतेदेखि आफ्ना सम्पूर्ण सेवाहरू नियमित रूपमा सुचारु हुने जानकारी दिएको छ।
भदौ २४ गतेको आन्दोलनमा आगजनी, ढुङ्गामुढा र लुटपाटको घटनामा अदालतमा विचाराधीन र फैसला भइसकेका कैयौं मुद्दाका मिसिल पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
ती मुद्दाहरूको कारबाही र सुनुवाइ प्रक्रियालाई अगाडि बढाउन अदालतले ६० दिनभित्र सम्बन्धित कागजातहरू उपलब्ध गराउन आग्रह गरेको हो।
सूचनाअनुसार, मुद्दाका पक्षहरू, कानून व्यवसायीहरू, महान्यायाधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन तथा अन्य सरोकारवालाहरूले आफूसँग सुरक्षित रहेका मिसिलसँग सम्बन्धित कागजातहरूको प्रतिलिपि उपलब्ध गराएर सहयोग गर्न सक्नेछन्।
अदालतले विभिन्न फाँटअनुसार २०८१ श्रावण १९ देखि भाद्र ३० सम्मका मुद्दाका कागजातहरू बुझाउन समयसीमा तोकेको छ।
आगजनीको घटनाले अदालतको भौतिक संरचना र सूचना प्रणालीमा समेत क्षति पुगेका कारण सेवा प्रवाह प्रभावित भएको थियो।
तर, सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयअनुसार, यही आउँदो २०८१ मंसिर १ गतेदेखि सबै प्रकारका रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइ लगायतका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।
सेवा अवरुद्ध भएको अवधिलाई ध्यानमा राख्दै अदालतले मुद्दाका पक्षहरूलाई हदम्याद, म्याद र तारेखमा विशेष सहुलियत दिने निर्णय गरेको छ।
सूचनाअनुसार, २०८१ भदौ २४ गतेदेखि २०८१ कार्तिक ३० गतेसम्मको अवधिलाई शून्य समय मानी गणना नगरिने भएको छ।
साथै, मंसिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको छ, जसले गर्दा सेवाग्राहीहरूले न्याय प्रक्रियाबाट वञ्चित हुनुनपर्ने भएको छ।
यसैगरी, आगजनीबाट जोगिएका र नष्ट नभएका मुद्दाहरूको पेसी र सुनुवाइ भने तोकिएको मितिमै नियमित रूपमा हुने अदालतले स्पष्ट पारेको छ।
कात्तिक २१, २०८२ शुक्रबार ०८:३३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।