ब्याटिङ साझेदारीमा चुकेको कप्तान पौडेलको स्वीकारोक्ति

ब्याटिङ साझेदारीमा चुकेको कप्तान पौडेलको स्वीकारोक्ति

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकप छनोटको ऐतिहासिक सफलता र आईसीसी विश्वकप लिग-२ मा टोलीको कमजोर प्रदर्शनबारे आफ्नो धारणा राखेका छन्।

लामो भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार भेटघाटमा उनले टी-२० विश्वकपमा छनोट हुनु र क्वालिफायरको उपाधि जित्नु ठूलो उपलब्धि भएको तर लिग-२ मा ब्याटिङ साझेदारी नबन्दा टोलीले संघर्ष गर्नुपरेको स्वीकार गरे।

कप्तान पौडेलले लामो समयपछि उपाधि जित्दाको खुसी व्यक्त गरे।

‘लामो समयपछि हामीले कुनै ट्रफी जितेका थियौँ। टी-२० विश्वकप क्वालिफायरको ट्रफी जित्नु आफैँमा ठूलो उपलब्धि थियो,’ उनले भने, ‘१० वर्षपछि हामी टी-२० विश्वकप खेल्दैछौँ र लगातार २०२६ का लागि पनि छनोट भएका छौँ। यसले टोलीमा खुसीको माहौल छायो।’

उनले विश्वकप छनोटअघि वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखला जितले टोलीको मनोबल बढाएको बताए।

‘वेस्ट इन्डिज टी-२० को शीर्ष टोलीमध्ये एक हो। टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक शृंखला जित्दा त्यसले हामीलाई विश्वकप क्वालिफायरका लागि ठूलो आत्मविश्वास दियो’, पौडेलले थपे।

टी-२० को सफलताका बावजुद लिग-२ मा टोलीको प्रदर्शन निराशाजनक रह्यो। यस विषयमा कप्तान पौडेलले ब्याटिङलाई मुख्य कमजोरीको रूपमा औंल्याए।

‘व्यक्तिगत रूपमा मलाई लाग्छ, हामीले खेलेका विकेटहरू ब्याटिङका लागि राम्रा थिए। तर ब्याटिङ युनिटको रूपमा हामीले साझेदारी बनाउन सकेनौँ,’ उनले भने, ‘हामी राम्रो स्थितिमा पुगेर पनि त्यसलाई सदुपयोग गर्न सकेनौँ। महत्वपूर्ण समयमा विकेट गुमाउँदा विपक्षी टोलीमाथि दबाव सिर्जना भयो।’

उनले अन्य टोलीहरूले सानो साझेदारीलाई ठूलो स्कोरमा परिणत गरेको तर नेपाली टोली त्यसमा चुकेको बताए।

पछिल्लो समय टी-२० क्रिकेटमा बढी केन्द्रित हुँदा एकदिवसीय फर्म्याटमा असर परेको हो कि भन्ने प्रश्नमा पौडेलले टी-२० विश्वकप छनोट मुख्य प्राथमिकता भएको स्वीकारे।

‘हामीसँग अन्य विकल्प थिएन। विश्वकप छनोट हाम्रो लागि निकै महत्वपूर्ण थियो। त्यसैले हाम्रो ध्यान त्यतै केन्द्रित भयो,’ उनले भने, ’तर हामी यसलाई बहाना बनाउन सक्दैनौँ। खेलाडीको रूपमा हामी एकदिवसीयमा भएको हारको जिम्मेवारी लिन्छौँ।’

लिग-२ मा नेपालको एकदिवसीय मान्यता जोगाउने बाटो अब कठिन भएको उनले स्वीकार गरे। हाल तालिकाको सातौं स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहन आगामी खेलहरूमा असाधारण प्रदर्शन गर्नुपर्नेछ।

‘अबको यात्रा निकै कठिन छ। हामीले टोलीको रूपमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सामूहिक सुधार गर्नुपर्छ। अब हाम्रो ध्यान ५० ओभरको क्रिकेटमा केन्द्रित हुनेछ’, पौडेलले भने।

कात्तिक २१, २०८२ शुक्रबार ०८:१३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।