जेन-जी आन्दोलनबारे पहिलो पटक बोले आइजिपी खापुङ : घुसपैठियाले नयाँबानेश्वरमा गोली चलाउन बाध्य बनाएको दाबी

जेन-जी आन्दोलनबारे पहिलो पटक बोले आइजिपी खापुङ : घुसपैठियाले नयाँबानेश्वरमा गोली चलाउन बाध्य बनाएको दाबी

काठमाडौं : प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले भदौ  २३ को जेन-जी पुस्ताको आन्दोलनकोक्रममा नयाँ बानेश्वरमा गोली चलाउनै पर्ने अवस्थाको निर्माण गरिएको दाबी गरेका छन्। जेन-जी आन्दोलनबारे पहिलो पटक अन्तर्वार्ता दिँदै उनले भने “प्रहरीले त्यो अवस्थाको बल प्रयोग गर्ने परिस्थिति निर्माण गरियो। केही घुसपैठियाले नियोजित रूपमा संवेदनशील संसद्मा तोडफोड र आगजनी गर्ने काम गरेपछि त्यहाँ भित्र खटिएकाको म्याण्डेड हो।”

उनले इमेज टेलिभिजनको हटसिटमा विकाश थपलियासँगको संवादमा जेनजीको आन्दोलनमा घुसपैठ भएको र घुसपैठियाहरुले गोली चलाउनुपर्ने अवस्थाको निर्माण गरेको दाबी गरे। उनले त्यो दिन प्रहरीले गोली नचलाएको भए संसद् भवन जल्ने अवस्था रहेको र संसद् जलेको भए पनि प्रहरीले नै दोष पाउने उनले बताए।

संसदै जलाउन खोज्छन् भन्ने अनुमान थिएन

खापुङले जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनमा आक्रोश भएको र यो आन्दोलनको उद्देश्य सामाजिक सञ्जाल बन्दको विरोधमा मात्र आव्हान नभएको र करिब २० हजार जति उपस्थित हुने आङ्कलन रहेको उनले दाबी गरे।

२० हजार जति प्रदर्शनकारी सहभागी हुने भए पनि सुरक्षाकर्मीले त्यसलाई म्यानेज गर्न सकिने सुरक्षा विश्लेषण रहेको तर सो समूह संसद् भवन जलाउन जान सक्छन् भन्ने पूर्वानुमान भने नभएको उनले स्विकारे।

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ

आइजिपी खापुङले जेनजीको आन्दोलनमा केही घुसपैठ हुनसक्ने पूर्वानुमान रहे पनि त्यो हदसम्मको घटना हुने अनुमान नभएको दाबी गरे। उनले पटक पटक आन्दोलनमा घुसपैठ भएको दाबी गरे पनि को र कसले घुसपैठ गराएको भने खुलाएनन्। उनले कसले घुसपैठ गराए भन्ने समयक्रममा खुल्ने बताए।

उनले प्रहरीले प्रदर्शन शान्तिपूर्ण होस् भनेर तीनकुनेदेखि एभरेस्ट होटेलसम्मको बिचमा कुनै ब्यारिकेट नराखेको र अन्तिम ब्यारिकेट नै एभरेस्ट अगाडि राख्नुको कारण बल प्रयोग गर्नुपर्यो भने पनि न्यूनतम बल प्रयोगको रणनीति भएको खुलाए।

संसद् भवनको गेटमा आगजनी गर्ने, पर्खाल भत्काएर भित्र जाने क्रम सुरु भएपछि जुन म्यान्डेट अनुसार संसद् भवनको सुरक्षामा फोर्स खटिएको थियो उनीहरूले त्यही गरेको दाबी गरे।

“कमान्डफोर्सलाई कानुन अनुसार विशेष अधिकार हुन्छ,” उनले भने “यस्तो बेलामा प्रहरी सधैँ दोहोरो मारमा पर्छ। प्रहरीले त्यही दिन बल प्रयोग नगरेको भए त्यही दिन संसद् भवन जल्थ्यो। प्रहरीले केही नगरेको भए पनि प्रहरीमाथि प्रश्न उठ्थ्यो।”

उनले घर जोगाउन मान्छे मार्नुपर्छ भन्ने मान्यतामा नरहेको तर महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने जिम्मेवारी अनुसारै खटिएको उनले दाबी गरे। उनले मान्छे मारेर संसद् भवन जोगाउँदा प्रहरीलाई के फाइदा हुन्छ भन्ने प्रश्न गरेका थिए।

उनले भदौ २३ गते नै विध्वंसको तयारी गरिएको तर प्रहरीले बल प्रयोग गरेकाले रोकिएको र त्यसैको आवरणमा भदौ २४ मा आगजनी र तोडफोडको घटना भएको उनले दाबी गरे।

टाउकोमा किन गोली लाग्यो ?

प्रहरी महानिरीक्षक खापुङले जुन भवन नाघेर भित्र छिरिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली चलाउँदा दुखद घटना भएको उनले बताए। नयाँ बानेश्वर क्षेत्रमा २ हजार राउन्ड भन्दा बढी गोली चलेको तर त्यस अनुसार घाइते नभएको भन्दै उनले यसलाई प्रहरीको संयमतासँग जोडे।

संवादमा उनले भदौ २३ गते केन्द्रीय कमान्डपोस्ट नबसेको स्वीकार गर्दै जिल्ला तहमा भने कमान्ड पोस्ट रहेको बताए। उनले नयाँ बानेश्वरमा गोली हान्ने आदेश कसैले नदिई परिस्थितिले निर्माण गरेको दाबी गरे। उनले स्थानीय प्रशासन ऐन अनुसार गोली चलाउने आदेश दिने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई तोकेको बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आएको दबाबबारे उनले भने "भावनाले कानुन चल्दैन।"

कात्तिक २१, २०८२ शुक्रबार ००:००:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।