छायाँ गृहमन्त्रीको अभ्यासमा सुधन : रोजेको मन्त्री र आइजिपी नियुक्तिमा हस्तक्षेप असफल भएपछि गृहमन्त्री विरुद्ध दबाब
काठमाडौं : १० दिन अगाडि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सुधन गुरुङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। उनी त्यहाँ पुग्दा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सँगै थिए। सामान्य कुराकानीसँगै उनले मन्त्रिपरिषद् विस्तार भावी प्रहरी महानिरीक्षकबारे चासो राखे।
मन्त्रिपरिषद्मा जेन-जी पुस्ताको प्रतिनिधित्व नभएको भन्दै उनले आफ्नो समूहको तर्फबाट भावना राउतलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे। त्यसमा कार्की अनि अर्याल दुवैले सामान्य प्रतिक्रिया जनाए।
बैठक स्रोतका अनुसार दुवैले हुन्छ पनि भनेनन्, हुन्न पनि भनेनन्। छलफल गरौँला भनेर पन्छाउने प्रयास गरे पनि सुधन भने दबाब दिने मनस्थितिमा बालुवाटार पुगेका थिए। उनले बारम्बार भावनाको नाम लिएका थिए। उनले भावनालाई महिला तथा बालबालिका मन्त्री बनाउन ढिपी नै गरेपछि प्रधानमन्त्री कार्की इरिटेट भएकी थिइन्। उनले सल्लाह गरौँला भनेकै छु भनेर छलफल सक्काउने प्रयास गरेकी थिइन्।
तर सुधन यसैमा रोकिएनन्। उनी मन्त्रीपछि कात्तिक २७ गते रिक्त हुने नेपाल प्रहरीको महानिरीक्षकमा केन्द्रित भए। उनले नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे विषयमा चासो राखे। उनले यसबारे आफूसँग पनि छलफल गर्नुपर्ने बताएपछि भने माहौल बिग्रियो।
प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार कार्कीले ‘तपाईँहरूले सुशासन र भ्रष्टाचारको विषय उठाएको हैन?, अनि यो विधि अनुसार हुने बढुवामा छलफल गर्नु भनेको नीतिगत भ्रष्टाचार हैन?’ भनेर प्रश्न सोधेकी थिइन्।
त्यसमा उनी सहमत भएनन्। गृह र प्रहरी प्रशासन जेन-जीको आन्दोलनको म्यान्डेट विपरीत काम गरिरहेको र आन्दोलनको दमनमा संलग्नहरूमाथि कारबाही गर्न नचाहेको भन्दै अबको आइजिपी जेन-जीको आन्दोलनको म्यान्डेड अनुसार काम गर्नेलाई बनाउनु पर्ने तर्क गरेका थिए।
कात्तिक २७ गते प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले अवकाश पाउँदैछन्। सरकारले ८ एआईजीमध्येबाट आइजिपी नियुक्त गर्नसक्ने भए पनि क्रमसंख्या र बढुवा समयको आधारमा दानबहादुर कार्की, राजन अधिकारी, डा मनोज केसी र सिद्दी विक्रम शाह प्रतिस्पर्धामा देखिन्छन्। छलफलमा सुधनले आइजिपी नियुक्तिबारे आफूसँग पनि छलफल गर्न माग गरे पनि कसलाई बनाउने भनेर नाम भने दिएका थिएनन्।
आइजिपीबारे चासो राख्दा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रहरी महानिरीक्षक नियुक्ति विधि र प्रक्रिया अनुसार हुने भएकाले यसमा छलफल गर्नुको अर्थ नहुने बताएपछि उनी थप रिसाएका थिए। उनले आफ्नो (जेन-जी) आन्दोलनको बलमा सरकारमा बस्ने अनि जेन-जीको पक्षमा काम नगर्ने भन्दै रिसाउन थालेपछि कार्की पनि झोक्किएकी थिइन्।
झोक्काझोक्कीमा प्रधानमन्त्री कार्कीले आफू विधि र प्रक्रिया अनुसार काम गर्ने र कसैको दबाब नसहने भन्दै सुधनलाई सरकारले गर्ने विधिसम्मत निर्णयमा दबाब नदिन भनिन्। तर उनले सरकारको शक्ति जेन-जी भएकाले जेन-जीसँग सल्लाह नगरी अगाडि बढे आफूहरू सरकारविरुद्ध उत्रने चेतावनी दिएर हिँडेका थिए।
बालुवाटारस्रोतका अनुसार यो बिचमा पनि सुधनले बारम्बार भावनालाई मन्त्री बनाउने र भावी प्रहरी महानिरीक्षकबारे चासो राखिरहेका छन्। तर प्रधानमन्त्री कार्कीले चासो दिएकी छैनन्। उनले जेन-जी आन्दोलनमा सहभागी शक्तिहरू सुधन मात्र नभएको भन्दै उसको अनावश्यक दबाब अनुसार काम नगर्ने सन्देश दिइसकेकी छिन्।
“सुधन पहिला फकाउने, नभए तर्साउने योजनामा बालुवाटारमा आएका रहेछन्। त्यही अनुसार उनले पहिला भावनालाई मन्त्री बनाउन आग्रह गरे। त्यसमा प्रस्ट प्रतिबद्धता नआएपछि ढिपी कस्न थाले,” बैठकबारे जानकारस्रोतले उकेरालाई भन्यो “त्यसपछि उनी गृह र प्रहरी प्रशासनमा प्रवेश गरेर अब आइजिपी कसलाई बनाउने हो त्यसबारे छलफल गर्नुपर्यो भनेपछि प्रधानमन्त्री र गृहमन्त्री दुवै रिसाउनुभयो।”
निरन्तर दबाबमा सुधन
जेन-जी आन्दोलनमा पानी बाँड्ने स्वयंसेवकको रूपमा सहभागी भए पनि भदौ २४ को घटनापछि भावी सरकार गठनबारे प्रधानसेनापति अशोकराज सिग्देलले सुरु गरेको वार्तामा सुधनलाई जेन-जी नेताको रूपमा अगाडि सारेपछि उनी निरन्तर जेन-जी लिडरको रूपमा सक्रिय छन्।
प्रारम्भमा मन्त्री बनाउनेदेखि विभिन्न सरकारी निकायमा जाँदै निर्देशन दिन सक्रिय रहेका उनी पछि प्रहरी प्रशासनमा प्रवेश गर्दै जेन-जी आन्दोलनको आवरणमा लुटपाट र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न दबाब दिन सक्रिय भए।
त्यो बेलामा गृहमन्त्री अर्यालले पनि सुधनलाई साथ दिँदै पक्राउ परेकाहरूलाई रिहा गर्न दबाब बढाएका थिए। गृहमन्त्रीको दबाबपछि प्रहरीले हिरासतमा रहेकाहरूलाई हाजिर जमानीमा मुक्त गरेको थियो। पछि सुधन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई कर्तव्य ज्यानमा पक्राउ गराउन दबाब बढाउन सक्रिय भए। उनले प्रहरीमा जाहेरी समेत दिए।
मन्त्रीपरिषद् विस्तारमा आफू निकटलाई मन्त्री बनाउन र अर्को समूहकालाई रोक्न उनी निरन्तर दबाब बढाउन सक्रिय भएका थिए। महिला तथा बालबालिका मन्त्रीका लागि रक्षा बमको नाम गएपछि उनी बमलाई मन्त्री नबनाउन सक्रिय भएका थिए। यसबारे उनको अडियो नै सार्वजनिक भइसकेको छ।
सुधन समूहको दबाबपछि प्रधानमन्त्रीले बमलाई मन्त्री बनाउन चाहे पनि निर्णय गर्न सकिनन्। उनले सीमित सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा पनि विभिन्न जेन-जी समूहहरू रहेको र एक समूहले दिएको नाम अर्को समूहले काट्ने गर्दा मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको बताएकी थिइन्।
केही समय सुधनले मन्त्रीका लागि दबाब दिन छाडेका थिए। पछिल्लो समय उनले एकाएक भावनालाई मन्त्री बनाउन दबाब बढाइरहेका छन्।
प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेट र उनले दिएको दबाबबारे जानकारी लिन सुधनलाई प्रयोजनसमेत खुलाएर एसएमएस गर्दा उनीबाट कुनै प्रतिक्रिया आएन।
मन्त्री बन्न भारतबाट नेपाल
विभिन्न सामाजिक अभियानमा संलग्न रहेकी भावना राउत जेनजी आन्दोलनको बेलामा भने भारतमा थिइन्। उनी कुन प्रयोजनका लागि भारतमा छिन् त्यो भने खुलेको छैन। जब नेपालमा जेन-जी आन्दोलन सफल भयो अनि उनी नेपाल आइन्। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दिन उनी राष्ट्रपति कार्यालय पुगेकी थिइन्।
पहिला विवेकशीलमा रहेकी उनी अहिले भने सो दलसँग संलग्न नरहेको विवेकशीलका एक नेताले बताए। झापाकी उनी मेडिकल शिक्षा सुधारका लागि डा गोविन्द केसीले सुरु गरेको आन्दोलनमा सहभागी थिइन्। केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा एक कार्यक्रममा उनले प्रश्न सोधेकी थिइन्।
उनको प्रश्नप्रति रिसाउँदै स्थापितले अपमानजनक अभिव्यक्ति दिएपछि स्थापितको आलोचना भएको थियो भने राउत चर्चामा आएकी थिइन्। केपी ओलीले प्रतिनिधि सभा विघटन गराउँदा पनि उनी विरोधमा उत्रिएको समूहमा संलग्न थिइन्।
गृहमा सुधनको चासो
हामी नेपालका अध्यक्ष रहेका सुधनको संस्थाको फ्रि तिब्बत अभियानमा संलग्न संस्था र व्यापारिक क्षेत्रमा बिचौलियाको रूपमा आलोचित व्यापारिक समूहसँगको सम्बन्ध सार्वजनिक भइसकेको छ। भदौ २४ को ध्वंसमा उनको भूमिका समेत शङ्कास्पद देखिएको छ।
जब जेन-जी आन्दोलन सफल भयो त्यसपछि एकाएक जेन-जी लिडरको रूपमा सक्रिय भएका उनले पछिल्लो समय गृह प्रशासनमा अधिक चासो देखाउने गरेका छन्। उनले यस अगाडि एसएसपीबाट डिआइजीपीमा हुने बढुवामा समेत कसलाई बढुवा गर्न हुने र कसलाई नहुने तहमा गृहमन्त्री अर्याललाई दबाब बढाएको जानकारस्रोतले उकेरालाई बतायो।
राजनीतिक दलहरूले शान्ति सुरक्षामाथि निरन्तर प्रश्न उठाएपछि गृह प्रशासन भदौ २४ को आगलागी, लुटपाट र प्रहरी हत्यामा संलग्नमाथिको अनुसन्धान र कारबाहीप्रति लचिलो बनेसँगै दैनिक पक्राउकोक्रम बढेको छ। प्रहरी हत्या, हतियार लुटपाट र आगजनीमा संलग्न अधिकांश पुर्पक्षका लागि कारागार गएका छन्।
यसबाट समेत सुधन सन्तुष्ट छैनन्। उनले भदौ २४ को घटनाबारे अनुसन्धान र छानबिन नगर्न निरन्तर दबाब बढाइरहेका छन्। पछिल्लो समय पक्राउकोक्रम बढेपछि उनले पक्राउ नगर्न दबाब बढाए पनि दोस्रो पटक गृह प्रशासन उनीसँग सहमत भएन।
गृहमन्त्रीलाई राजीनामा दिन दबाब
आफूले भने अनुसार गृह प्रशासनबाट काम हुन छाडेपछि रिसाएका सुधनले बिहीबार गृहमन्त्री अर्याललाई राजीनामा दिन चेतावनीदिँदै राजीनामा नदिए “दुई दिनपछि हुने प्रेस कन्फ्रेन्सले भविष्य निर्धारण गर्ने भन्दै सामाजिक सञ्जालमा लेखे “प्रधानमन्त्रीको प्रिय पात्र बनेर कुर्सी बच्छ भन्ने सोच्नुहुन्छ भने त्यो तपाईँको भ्रम हो।”
उनले अर्याललाई अलोकप्रिय गृहमन्त्री भएको, जेनजीको आन्दोलनले हत्यारा समात् भन्दा गृहमन्त्रीले जेन-जी समात् भन्ने सुनेको दाबी गर्दै जेनजीको माग पुरा नभए निर्वाचन पनि नहुन नदिने चेतावनी समेत दिएका छन्।
सुधन गुरुङबारे उकेरामा प्रकाशित समाचार
कात्तिक २०, २०८२ बिहीबार २०:३६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।