रोबिन सिंह लुम्बिनी लायन्सको ‘मेन्टर’ नियुक्त
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई आफ्नो मेन्टर नियुक्त गरेको छ। मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने लिगमा सिंहले टिमलाई प्रशिक्षण र रणनीतिमा मार्गदर्शन गर्नेछन्।
६२ वर्षीय रोबिन सिंहसँग दुई दशकभन्दा लामो प्रशिक्षण अनुभव छ। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स, र क्यारेबियन प्रिमियर लिग (बारबाडोस ट्रिडेन्ट्स) मा टिम प्रशिक्षण दिइसकेका छन्। यस्तै, सिंहले यूएई राष्ट्रिय टिमलाई पनि प्रशिक्षित गरिसकेका छन्। खेलाडी जीवनबाट संन्यास लिएपछि उनले भारत यू–१९ टिम, भारत ए टिम, र भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रूपमा काम गरेका थिए।
सिंहले सन् २००४ मा हङकङ टिमलाई एसिया कपमा छनोट गराउन सहयोग पुर्याएका थिए। आईपीएलको पहिलो सिजन २००८ मा उनी डेक्कन चार्जर्सको प्रशिक्षक थिए भने सन् २०१० देखि मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका थिए। सन् २०१२ पछि बारबाडोस ट्रिडेन्ट्स, सन् २०२० मा यूएई राष्ट्रिय टिमको डाइरेक्टर अफ क्रिकेट र मुख्य प्रशिक्षक, र सन् २०२३ मा इन्टरनेशनल लिग टी–२०मा एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बनेका छन्। खेलाडी जीवनमा उनी अलराउण्डर थिए।
‘अन्तर्राष्ट्रिय अनुभव र प्रतिभा बोकेका रोबिन सिंहलाई हाम्रो टिममा ल्याउनु मात्र हाम्रो लागि होइन, समग्र नेपाली क्रिकेटका लागि पनि ठूलो अवसर हो। उहाँले आफ्नो अनुभव र रणनीति खेलाडीहरूसँग बाँडेर टिमलाई बलियो बनाउने छन्,’ लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले भने।
रोबिन सिंहले पनि लुम्बिनी लायन्समा मेन्टर बनेर खुसी व्यक्त गर्दै भने, ‘नेपालमा क्रिकेट तीव्र गतिमा बढिरहेको छ। म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्न र जित्ने संस्कृतिको निर्माण गर्न उत्साहित छु। लायन्ससँग ठूलो सम्भावना छ र हामी यो सिजनलाई अविस्मरणीय बनाउन चाहन्छौं।’
लुम्बिनी लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल हुन्। यसैगरी, टोलीले विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राका अनुबन्ध गरिसकेको छ भने अन्य विदेशी खेलाडीको घोषणा चाँडै हुने बताइएको छ।
कात्तिक २०, २०८२ बिहीबार १९:२३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।