खलनायक शंकर कार्कीसँग हिजोका कुरा : फिल्म हेर्न पाउँदा संसार जितेझैँ लाग्थ्यो, लामो दाह्री र कपालले ‘गुण्डा’ बनायो

खलनायक शंकर कार्कीसँग हिजोका कुरा : फिल्म हेर्न पाउँदा संसार जितेझैँ लाग्थ्यो, लामो दाह्री र कपालले ‘गुण्डा’ बनायो

काठमाडौं : शंकर कार्की ५० वर्षअघि सिन्धुलीमा जन्मिए। सिन्धुलीको गाउँमा जन्मिएका कार्कीको जीवन यात्राले गाउँको सरल बाल्यकालदेखि चलचित्रको पर्दासम्मको रोचक कथा बोकेको छ। गाउँकै विद्यालयमा कक्षा ९ सम्म अध्ययन गरेका उनले इजार हालेको कट्टु र नाङ्गा खुट्टाले नै विद्यार्थी जीवन बिताए। 

उनको बाल्यकालमा गाउँमा मनोरञ्जनका विकल्पहरू सीमित थिए। शहरको आकर्षणले उनलाई काठमाडौंसम्म ल्यायो। नेपाल पर्यटन बोर्डमा १२ वर्ष काम गरेका कार्कीले जागिर छोडेर चलचित्र क्षेत्रमा पाइला टेके। ‘मेरो जीवन साथी’, ‘आबेग’ र ‘फन्को’ जस्ता फिल्ममा खलनायकका रूपमा अभिनय गर्दै उनले सहनिर्माताको जिम्मेवारी पनि सम्हाले।

गाइजात्राको समयमा गीत लेखेर कलात्मकता झल्काएका उनले लगानी गरेको फिल्म सफल नभएपछि पुनः चलचित्र निर्माणमा नजाने निर्णय गरे। अहिले उनी फिल्मभन्दा टाढा छन्, तर ती दिनका अनुभव आज पनि उनको जीवनका रोचक क्षण भएर बसेका छन्। बुधबार रातोपुलस्थित एक क्याफेमा उनले उकेराकर्मी भोला अधिकारीसँगको उकेराको साप्ताहिक स्तम्भ  ‘हिजोका कुरा’का लागि आफ्ना अनुभवहरू साटेका छन्।

एक डोको घाँस काटेर मात्रै स्कुल कुदिन्थ्यौँ 

मेरो जन्म सिन्धुली जिल्लाको रानीबास वडा नम्बर १३ मा भयो। पहिला जनकपुर अञ्चल, सिन्धुली जिल्ला, रानीबास वडा नम्बर ३ बयरबन भनेर चिनिन्थ्यो। त्यो समयमा गाउँ पञ्चायत भनिन्थ्यो, समयसँगै नाम परिवर्तन हुँदै गयो। मैले थाहा पाउँदासम्म तीन नम्बर रानीबास गाविस थियो। म वि.सं. २०३२ सालमा जन्मिएको हुँ। पाँच दाजुभाइ र एक बहिनीमध्ये म काइलो हुँ।

मेरो बाल्यकाल निकै रमाइलो थियो। अहिले त्यो बेलाका कुरा गर्दा कथा सुनाएजस्तो लाग्छ। किनभने त्यो समयमा धनसम्पत्ति जति भए पनि सबैले कट्टु लगाएरै स्कुल कुद्थ्यौँ। वर्षमा एक जोर लुगा फेर्ने चलन थियो। सिस्टम त्यही थियो। कालो पाटी बोक्ने, सम्पत्ति भए पनि मतलब थिएन। हाम्रा लागि पढ्ने भनेको स्कुलमै जाने हो, घरमा पढ्ने भन्ने चलन नै थिएन। घरमा पढ्न पर्यो भने टुकी वा बत्ती बालेर पढ्नुपर्थ्यो।

त्यो बेला मटितेलकै कन्जुस्याइँ हुन्थ्यो, किनभने मटितेल लिनका लागि बजार जानुपर्थ्यो। त्यो पनि हप्तामा एकपटक मात्रै, बजार लागेको दिनमा। अरु बेला त कोही बजार गएको थाहै हुँदैनथ्यो। चिउरा र बिस्कुट त कथा जस्ता वस्तु थिए।
हामी स्कुल जाँदा पनि बिहानै एक डोको घाँस काटेर मात्र जानुपर्थ्यो। घाँस काटेर आउँदा अरु साथीहरू स्कुल पुगिसकेका हुन्थे। कहिलेकाहीँ त भोकै कुदिन्थ्यौँ।

म पढेको स्कुलको नाम अहिले परिवर्तन भएको सुनेको छु। त्यो बेला हामी पढ्दा माथिल्लो रानीबास स्कुल भनिन्थ्यो। त्यहाँ पाँच कक्षासम्म पढाइ हुन्थ्यो। त्यसपछि कक्षा ६ देखि एसएलसीसम्मका लागि भिमानमा रहेको जनजागृति माविमा पढ्न आउनुपर्थ्यो। दुई-अढाई घण्टाको एकतर्फी बाटो हिँडेर पुग्थ्यौँ।

मैले कक्षा ९ पास गरेँ र त्यसपछि पढाइ छाडेँ। पढ्नका लागि रोकटोक वा सम्पत्ति नभएर होइन, अक्षर चिनियो भने पुग्छ भन्ने सोच थियो। अहिलेको जस्तो पढाइ व्यवसायीक र अनिवार्यजस्तो थिएन, साधारण भए पुग्थ्यो।

त्यो समयमा बाटोघाटो पनि कहाँ थियो र! अहिले पो बीपी राजमार्ग बनेको छ। त्यतिखेर त गोरेटो बाटो मात्रै थियो। लोकल बस चल्दैनथ्यो। बस हेर्नका लागि सिन्धुली वा बर्दिबासको बाटोमा आउनुपर्थ्यो। हाम्रो तिर त कहिलेकाहीँ ट्रकहरू आउँथे, त्यो पनि निकै न्यून। कुनै सामान बोक्न गएका वा केही लिन आएका बेला मात्र ट्रक देखिन्थे। नत्र छैन। हामी त ती ट्रकको पछिपछि दौडिन्थ्यौँ। त्यस्तै समय थियो त्यो।

स्कुल जाँदा ड्रेस हुँदैनथ्यो। इजारवाला कट्टु लगाएरै जानु पर्ने। लेख्ने सामग्रीको कुरा गर्दा, संयोगले खरि ढुङ्गा पायौँ भने त्यही प्रयोग गर्थ्यौँ, नत्र अरू उपाय लगाउनुपर्थ्यो। अहिले जस्तो सहजता कहाँ थियो र त्यो बेलामा!

फिल्म हेर्न पाउँदा संसार जिते झैँ लाग्थ्यो

हामी स्कुल पढ्दाको समयमा नाटक गर्ने भन्ने कुरा थाहा थिएन। बरु कक फाइट (भाले जुधाइँ) हुन्थ्यो। हाम्रोमा यो निकै प्रचलित खेल थियो। म पनि यो खेलमा खत्रा नै थिएँ। सर–मिसहरूले स्कुलमा खेलाउने खेल पनि प्राय यही नै हुन्थ्यो। डण्डिबियो अलि–अलि मात्र खेलिन्थ्यो। स्कुलमा त खासै हुँदैनथ्यो, गोठालो गएका बेला साथीभाइ मिलेर खेलियो भने हो, नत्र खेल नै थिएन।

फुटबल, भलिबल, नाटक जस्ता खेलको त कहिल्यै थाहा नै पाइएन। क्रिकेट त भर्खरै आएको हो। त्यो समयमा हाम्रो गाउँघरमा चलेको र स्कुलमा “गेम” भइहाल्यो भने पनि कक फाइट नै हुन्थ्यो। तर त्यो पुरस्कार पाउने हिसाबले खेलिन्थेन, किनभने स्कुलले पुरस्कार दिन सक्ने क्षमता नै थिएन। के पुरस्कारको बाजी खेलाइन्थ्यो र? जमाना नै अर्कै थियो।

एकपटक के भयो भने, भिमान स्कुलमा पढ्दाको समयमा कक फाइट खेल्दा एउटा साथी आधा घण्टा बेहोस नै भयो।
हाम्रो समयमा मोबाइल र कम्प्युटर भन्ने कुरा नै हुँदैनथ्यो। ती त भर्खर–भर्खर मात्र देख्न थालेका हौँ। अहिलेका बच्चाहरूले त संसार पाएका छन्। हाम्रा पालामा पैसा हुँदैनथ्यो, अहिले पैसै पैसा छ, सबै कुरा छ।

हाम्रो पालामा झगडा पर्यो भने पनि केही हुँदैनथ्यो, हानाहान गर्नलायक कुरा नै थिएन। त्यही कालो पाटीले ठटाउने हो। ठुलो झगडा पर्यो  भने वडासदस्यहरूले वडामै सल्टाउँथे। त्यस्तो भयङ्कर झगडा गाउँमा भएको थाहा छैन। मान्छेहरू इमानदार थिए।

मनोरञ्जनका लागि हामी केटाकेटीहरूलाई खासै केही हुँदैनथ्यो। फिल्म हेर्न जाने ठाउँ नै थिएन। फिल्म हेर्ने रहर साह्रै हुन्थ्यो। मैले सुरुवातमा कुन फिल्म हेरेँ, अहिले ठ्याक्कै सम्झना छैन। त्यो समयमा फिल्म हेर्न पाउनु नै संसार जिते जस्तो लाग्थ्यो। 

मान्छेले चाहेको कुरा हेर्न पाउनु भनेको अर्कै कुरा थियो। अहिले बरु यो फिल्ममा यसो भएको भए हुन्थ्यो, उसो गरेको भए हुन्थ्यो भन्छौँ। त्यो समयमा त हेर्न पाइयो भने पुग्थ्यो - जे पुगे पनि, नपुगे पनि मतलब थिएन।

एउटा फिल्ममा मरेको भिलेन अर्को फिल्ममा फेरि देख्दा अचम्म लाग्थ्यो। अहिले त आफैँले पनि फिल्ममा काम गरेपछि थाहा भयो - “ए, यस्तो हुने रै’छ है” भन्ने लाग्छ। सोचाइमा निकै परिवर्तन आएको छ।

त्यो समयमा सबैले फिल्म हेर्न सक्दैनथे। पैसै नभएकाले फिल्म हेर्नु सजिलो थिएन। फिल्म हल पनि अहिलेको जस्तो गतिला थिएनन्। हलको बाहिरबाट एक आँखाले चिम्म गरेर प्वालबाट हेर्ने चलन थियो। सिन्धुली बजार, बर्दिबास, लालबन्दी र सर्लाहीतिरका हलमा फिल्म हेरेको सम्झना छ। त्यो पनि निकै ठूला भएपछिको कुरा हो।

दाह्री र कपालले ‘गुण्डा’ बनायो

म इलेक्ट्रिक सम्बन्धी काम गर्दै आएको थिएँ। यही सिलसिलामा म पर्यटन बोर्डमा जागिरे बनेँ। सुरुमा मलाई जागिर खानै मन थिएन। तर त्यो समयमा त्यहाँका ठूला मान्छेहरूले मेरो इमान्दारिता देखेर जागिरका लागि ढिपी गरेपछि अन्ततः खाएँ। यो करिब २०५८ सालतिरको कुरा हो।

करारमा मैले इलेक्ट्रिसियनको रूपमा काम गर्दा धेरैजनासँग चिनजान बढ्यो। मेरो एक जना साथी हुनुहुन्छ, पर्यटन बोर्डकै राजेन्द्र घिमिरे। उहाँले मलाई शिवशंकर रिजाल (जोगिन्दर) सँग परिचय गराउनुभयो। उहाँसँग मैले केही सहकार्य गर्ने मौका पाएँ। मैले उहाँका गाइजात्रा का धेरै गीतहरू लेखेको छु।

यही क्रममा यमन म्युजिक भन्ने कम्पनीका प्रोपाइटर सूर्य कार्कीसँग पनि चिनजान भयो। उहाँले नै निर्माण गरेको फिल्ममा मलाई अफर गर्नुभयो। किनभने त्यो समयमा मेरो दाह्री र कपाल दुवै लामो थियो। ठ्याक्कै गुण्डा जस्तो देखिन्थ्यो।

कतै झगडा परिरहेको छ भने म त्यहाँ जानु हुँदैन, उभिनु पनि हुँदैन भन्ने अवस्था थियो। झगडा जो सुकैको होस्, प्रहरी आयो भने सबैभन्दा पहिला मलाई नै समाउँथ्यो। लामो कपाल पालेको देखेर। कहिलेकाहीँ त बाटोमा हिँड्दा पनि टारेर हिँड्नुपर्थ्यो। डाँकाहरू समेत मलाई देखेर डराउँथे।

सुटिङ सकेको त्यो रात चौकीमै बास

एक दिन ख्याल–ख्यालमै चौकीमा बस्न पुगे। फिल्म ‘मेरो जीवन साथी’ को अन्तिम सुटिङ चलिरहेको थियो। त्यसमा मेरो सानो भूमिका थियो। सुटिङ सकिएपछि मैले पनि अलिकति पिएँ। अहिले जस्तो मापसे चेकिङको कडाइ त्यतिबेला हुँदैनथ्यो।

मेरो बसाइ चावहिलमा थियो। सुटिङ सकिएपछि मैले मेरै गाडीमा केही प्राविधिक र केही फिल्मकर्मीलाई घर-घरमा पुर्याएँ। त्यसपछि अर्जुन बिसीलाई लिएर पशुपति गएँ। त्यो दिन शिवरात्री थियो। गाडी पार्क गर्नका लागि गौरीघाट जाने बाटोमा मिलाइरहेको थिएँ, त्यत्तिकैमा असई साबले ‘यसले मलाई हान्न आयो’ भन्दै सिधै गौशाला चौकीमा लगेर थुनिदिए। सायद उहाँलाई डबल ड्युटी थियो कि क्या हो, चौकीमै पुर्याएर रातभर थुनियो।

त्यो बेला त रिस उठ्यो, तर अहिले त्यो घटना सम्झँदा रमाइलो लाग्छ। कुरा के भयो भने, मलाई थुनेको कोठामा म पुग्नुभन्दा अघि नै ३७ जना पहिले नै थुनिएका रहेछन्। म पुगेपछि ३८ जना भयौँ। कोही ज्यानमारा, कोही गाडी फोडेका, कोही अन्य अपराधमा समातिएका थिए। साँघुरो कोठामा यति धेरै मान्छे अटाएका कि उभिन ठाउँ पनि थिएन।

म छिरेपछि त्यहाँका धेरै जना डराए। मेरो त्यो कपाल, हाउभाउ, कानमा मुन्द्रा, भिलेनको गेटअप थियो। भर्खर फिल्ममा भिलेनको भूमिका गरेर आएको, ठ्याक्कै त्यही रूपमै थिएँ।

त्यहाँका कैदीहरू सबैको कपाल प्रहरीहरूले काटेका रहेछन्। तर मेरो काटेनन्। भोलीपल्ट बिहान अधिकांशलाई बाहिर बढार्न र सफा गर्न लगाइँदो रहेछ। तर मलाई केही गर्न लगाएनन्। मनमनै लाग्यो- ‘लगाएको भए बेइज्जत हुने पो थियो।’ किन मलाई बढार्न लगाएनन्, आजसम्म थाहा छैन।

पछि अर्का प्रहरीले ‘यसको कपाल काटेकै रैनछ’ भन्दै थिए। मैले भनेँ, ‘म कलाकार हुँ, फिल्मको लागि यस्तो गरेको हुँ।’ उनले पनि पछि त्यति जोड गरिनन्। अन्ततः मलाई छोडियो। त्यसरी म एक रात चौकीमा बस्नुपरेको थियो।

त्यो फिल्ममा म सह-निर्माताको रूपमा पनि थिएँ। त्यसपछि मैले अर्को फिल्म ‘आबेग’ मा सह-निर्माता र सहायक भिलेनको रूपमा अभिनय गरेँ। त्यो फिल्ममा नागेन रिजाल मुख्य भिलेन थिए भने म उनको भाइको भूमिकामा सेकेन्ड भिलेन थिएँ। आर्यन सिग्देलको त्यो पहिलो एक्सन मुभी थियो।

तर ‘आबेग’ ले पनि खासै पैसा कमाएन। सुटिङका बेला भने निकै रोचक कुरा भयो- आर्यन सिग्देल चलेको हिरो, म नचलेको भिलेन, तर सुटिङका बेला मान्छेहरू आर्यनसँग होइन, मसँग फोटो खिचेर जान्थे!

अर्को फिल्म ‘फन्को’ मा म नेताको भूमिकामा देखिएको थिएँ। त्यसपछि मलाई खासै काम गर्ने जाँगर चलेन। म आफैंलाई चिन्न पनि कहिलेकाहीँ मुस्किल पर्छ, किनभने मेरो गेटअप नै अर्कै छ। केही फिल्ममा अभिनय गरियो, तर मनले अझै त्यो दुनियाँमा फर्कन खोज्दैन।

पहिलाका मान्छे इमान्दार थिए

त्यो समयमा मान्छेहरू इमान्दार थिए। अहिलेको समयमा इमान्दार मान्छे खोज्न निकै गाह्रो छ। पहिला कसैले कसैलाई आँखा चिम्लेर विश्वास गर्ने समय थियो, तर अहिले त्यस्तो छैन।

कस्तो भने, कसैलाई कुनै कामको जिम्मेवारी दिएको भए ऊ पूरा गर्थ्यो। तर अहिले त्यस्तो खासै देखिँदैन। घरकै कुरा गर्ने हो भने घरकै मान्छेलाई विश्वास गर्न गाह्रो हुने अवस्था छ, परको त कुरै छैन। मैले भन्न खोजेको के हो भने, त्यो समयका मान्छेहरू एकदमै इमान्दार थिए।

कात्तिक २०, २०८२ बिहीबार १६:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।