जेन-जी आन्दोलनको जाँचबुझमा आयोग र प्रहरी नेतृत्वको द्वन्द्व, कारबाहीको चेतावनीपछि पठायो आंशिक विवरण
काठमाडौँ : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकोक्रममा सुरक्षा व्यवस्था मिलाउन फिल्डमा खटिएका प्रहरीको विवरण उपलब्ध नगराएको भन्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई जाँचबुझ आयोगले कारबाही गर्ने तयारी गरेपछि प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयले आंशिक विवरण पठाएको छ।
आयोगले पटक-पटक काठमाडौँ उपत्यका र उपत्यका बाहिर जेन-जी आन्दोलनको दिन फिल्डमा खटिएका प्रहरी कर्मचारीको विवरण मागे पनि प्रहरी प्रधान कार्यालयबाट प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्म खटिएको भन्ने अपूर्ण जवाफ पठाएपछि असहयोग गरेको भन्दै आयोगले बुधवार 'आयोगलाई जाँचबुझमा असहयोग गरेकोमा किन कारबाही नगर्ने' भन्दै आइजिपी खापुङलाई २४ घन्टे स्पष्टीकरण पत्र पठाएको थियो।
स्पष्टीकरण पत्र पठाएपछि प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयबाट केही जानकारी आए पनि पूर्ण विवरण भने अझै आयोगले पाउन सकेको छैन। मुख्यगरि आयोगले भदौ २३ गते गोली चलेको नयाँबानेश्वर क्षेत्रमा भिड नियन्त्रणमा खटिएका र संसद् भवनको सुरक्षामा विशेष कार्यदलबाट खटिएकाको नाम मागेको थियो। भदौ २४ मा मुख्य क्षति भएको क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूको विवरण मागेको थियो।
"आयोगले छानबिनका लागि प्रहरीसँग भदौ २३ र २४ मा खटिएका प्रहरी अधिकारीहरूको नाम मागेका थियौँ। त्यसमा ढिलाइ भएपछि बुधवार आइजिपीलाई स्पष्टीकरण पत्र पठायौँ,” जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले भने “ बिहीबार केही विवरण आएका छन्। के-के विवरण आएको छ त्यो हेर्दै छौँ।”
भिड नियन्त्रणमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी समेत खटिने गरेको छ। भदौ २३ र २४ मा सशस्त्रबाट फिल्डमा खटिएकाहरूबारे समेत आयोगले विवरण मागेको थियो। प्रवक्ता शर्माका अनुसार आयोगले मागेको विवरणहरू सशस्त्रबाट आइसकेका छन्।
आयोगले मागेको विवरण दिन ढिलाइ गरेकोबारे प्रहरीका अधिकारीहरूसँग सोध्दा जाँचबुझ आयोग जेनजी आन्दोलनको सुरक्षा परिचालन भन्दा पनि कात्तिक २७ पछिको प्रहरी महानिरीक्षक चयनलाई प्रभावित पार्ने मनसायले काम गरिरहेको देखिएकाले विवरण नपठाएको दाबी गरे।
"भदौ २४ मा अधिकांश प्रहरी कार्यालय जलेकाले पोस्टिङको विवरण पठाउन समस्या भइरहेको छ। विशेष गरेर उपत्यकामा खटिएकाहरूको विवरण हुने उपत्यका प्रहरी कार्यालय जलेर पुरै ध्वस्त भयो। यसले पनि विवरण सङ्कलनमा ढिलाइ भएको हो,” नाम उल्लेख नगर्ने सर्तमा एक जिम्मेवार प्रहरी अधिकारीले भने “आयोगका जिम्मेवार अधिकारीहरू जाँचबुझ नै नसकिई पहिल्यै यसलाई कारबाही गर्ने र उसलाई कारबाही गर्ने भन्दै बोल्दै हिँडेकाले जाँचबुझमा बदनियतको जोखिम पनि देखिएको छ। यो पक्ष पनि हामी हेर्छौँ नै।"
को-को थिए कमान्डमा?
आयोगले यस अगाडि नै जाँचबुझकाक्रममा आयोगले बोलाउन सक्ने भन्दै भदौ २३ र २४ गते काठमाडौँ उपत्यकाको सुरक्षा कमान्डमा खटिएकाहरूलाई उपत्यका बाहिर जान नदिन प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो।आयोगको पत्र अनुसार प्रधान कार्यालयले पनि मातहतका कार्यालयहरूमा सर्कुलर जारी गरिसकेको खुल्यो। फिल्डमा खटिएका कमान्डरहरूको हकमा भने अझै पनि पूर्ण विवरण भने आयोगले पाएको देखिएन। आयोगमा प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयबाट बिहीबार संसद्को सुरक्षामा खटिएका विशेष कार्यदलको विवरण पुगेको छ।
जेनजी आन्दोलनमा गृहमन्त्री रमेश लेखक थिए। गृह सचिव गोकर्णमणि दवाडी थिए। नेपाल प्रहरीमा चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरीमा राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागमा हुतराज थापा प्रमुख थिए। गृह र सुरक्षा संगठनका अधिकारीहरूमध्ये दवाडीको सरुवा भइसक्यो। थापाले अवकाश पाइसके। अन्यको हकमा अहिले पनि पदमै छन्।
प्रहरी प्रधान कार्यालयमा एआइजीको चार पद रिक्त थियो। भएका चार एआइजीमध्ये २३ गते दानबहादुर कार्की कर्मचारी प्रशासनमा थिए। प्रहरी अप्रेसन सम्हाल्ने प्रहरी प्रधान कार्यालयको कार्य विभागमा एआइजी सिद्धि विक्रम शाह थिए। प्रदेश प्रहरीसँग समन्वय कार्यालयको प्रमुखमा एआइजी डा मनोज केसी थिए। अपराध अनुसन्धान विभागमा एआइजी राजन अधिकारी थिए।
जेनजी आन्दोलनको पहिलो दिन उपत्यका प्रहरी कार्यालयमा प्रमुख रहने एआइजी थिएनन्। डिआइजी ओम रानाले निमित्त प्रमुखको रूपमा काम गरेका थिए। २३ गतेको बबन्डरपछि सरकारले २४ गते एआइजी कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा खटाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा विश्वराज अधिकारी थिए। काठमाडौँ परिसरको दोस्रो तहको कमान्डमा एसपी अपिलराज बोहोरा थिए। फिल्डको कमान्डमा डिएसपी सुन्दर तिवारी थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा रमेश बस्नेत थिए। नगर प्रहरी कार्यालयमा डिएसपी मन्जिल मुकारुङ थिए। अधिकारीसहित काठमाडौँ परिसरको एसपीहरूको सरुवा भइसकेको छ। अहिले रमेश थापा प्रमुख छन्। बस्नेत अहिले पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छन्।
संसद्को सुरक्षामा खटिएको विशेष कार्यदल सिधै प्रहरी प्रधान कार्यालय मातहतको युनिट हो। कार्यदलको प्रमुखमा एसपी ऋषिराम कँडेल छन्। जिल्ला प्रशासन कार्यालयको प्रमुखमा छविलाल रिजाल थिए। उनको सरुवा भइसकेको छ।
कात्तिक २०, २०८२ बिहीबार १४:३५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।